काठमाडौँ, १२ भदौ । अमेरिकाले अफगानिस्तानको नाङ्गाहार प्रान्तमा इस्लामिक स्टेटका लडाकुलाई लक्षित गरी हवाई आक्रमण गरेको छ । अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार राष्ट्रपति जो बाइडेनको स्वीकृतिपछि अमेरिकी सेनाले आक्रमण गरेको हो ।
अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन बिल अर्बनले नाङ्गाहार प्रान्तमा मानवरहित हवाई आक्रमण गरेको पुष्टि गरेका छन् । वक्तव्य जारी गर्दै उनले भनेका छन्, ‘अफगानिस्तानको नाङ्गाहार प्रान्तमा मानवरहित हवाई आक्रमण भएको छ ।
सुरुवाती रिपोर्टअनुसार टार्गेट मारिएका छन् ।’ उनका अनुसार आक्रमणमा सर्वसाधारणलाई भने कुनै क्षति भएको छैन ।बिहीबार काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आत्मघाती विस्फोटमा १३ जना अमेरिकी सुरक्षाकर्मीसहित १६० जना अफगानी नागरिक मारिएका थिए । अमेरिकाले काबुल आक्रमणको ४८ घण्टापछि हवाई आक्रमण गरेको हो । स्काई न्युजका अनुसार २ जना ब्रिटिस नागरिक पनि मारिएका छन् ।
अफगानिस्तानमा तालिबानले सत्ता हातमा लिएपछि अमेरिकालगायतका मुलुकले लगातार उद्धार कार्य गरिरहेको छ । शुक्रबार मात्रै ४ हजार २ सयको उद्धार गरिएको छ । बिहीबार पनि करिब ७ हजार ५ सयको उद्धार गरिएको थियो । ह्वाइट हाउसका अनुसार अगस्ट १४ देखि यता अमेरिकाले १ लाख ९ हजारभन्दा बढीको उद्धार गरेको छ ।यसैबीच अमेरिकाले काबुल विमानस्थलमा विभिन्न गेटमा रहेका आफ्ना नागरिकलाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
COMMENTS