नेपालले कोरोनाभाइरस उत्पत्तिबारेको छानविनमा निष्पक्ष अडान लिएको भन्दै चीनले गर्यो प्रशंसा

काठमाडौं, १४ भदौ । कोरोनाभाइरस उत्पत्तिको विषयमा नेपालले निष्पक्ष अडान लिएर आफूलाई सहयोग गरेको भन्दै चीनले बधाई दिएको छ । काठमाडौंस्थित चिनियाँ दूतावासले आज विज्ञप्ति जारी गर्दै नेपालको सहयोगका लागि धन्यवाद दिएको हो ।भाइरस उत्पत्तिलाई राजनीतिकरण नगर्न आग्रह गर्दै नेपालसहितका ८० मुलुकले विश्व स्वास्थ्य संगठनका निर्देशकलाई कूटनीतिक नोट लेखेर नेपालले सहयोग गरेको चीनले जनाएको छ ।

कोभिड–१९ महामारी नियन्त्रणमा नेपाल र चीनले एकअर्कालाई सहयोग गरेर अन्तर्राष्ट्रिय साझेदारिताको उत्कृष्ट उदाहरण पेश गरेको समेत पनि विज्ञप्तिमा उल्लेख छ ।

महामारीविरुद्ध चीनले नेपाललाई आफ्नो सहयोग निरन्तर रहने उल्लेख गर्दै आफ्नो क्षमताले भ्याएसम्म चीनले थप खोप सहयोग प्रदान गर्ने पनि जनाएको छ । भाइरस उत्पत्तिलाई राजनीतिकरण गर्ने कार्यविरुद्ध चीनले नेपालसँग मिलेर कार्य गर्न चाहेको समेत जनाइएको छ ।
महामारी सुरुभएपछि यसको छानविनको लागि चीनले खुला, पारदर्शी र उत्तरदायी दृष्टिकोण पेश गरेको उल्लेख गर्दै विज्ञप्तिमा अमेरिकाले राजनीतिक उद्देश्यले मात्र भाइरस उत्पत्तिबारे दोषरोपण गरेको आरोप चीनले लगाएको छ ।

भाइरस उत्पत्तिको कुरा राजनीतिक म्यानुपुलेसन र जासूसी छानविनभन्दा विज्ञानको विषय भएको ध्यानाकर्षण जनाउँदै चीनले अमेरिकाले तथ्य र विज्ञानलाई अस्वीकार गरेको पनि उल्लेख गरेको छ ।

गत शनिबार दुई दर्जन अमेरिकी जासूसी एजेन्सीले भाइरस उत्पत्तिमा चीनले असहयोग गरेको आरोप लगाउँदै अपुरो प्रतिवेदन सार्वजनिक गरेका थिए । प्रतिवेदन सार्वजनिक भए लगत्तै राष्ट्रपति जो बाइडनले चीनले असहयोग गरेको भन्दै आलोचना गरेका थिए । गत महीना नेपालसहितका ८० देशले भाइरसलाई राजनीतिकरण नगर्न आग्रह गर्दै डब्लुएचओ निर्देशकलाई पत्र लेखेको चीनले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board