काठमाडौं, १७ भदौ । नेपालमा कुल जनसंख्याको १५ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन्।देशभर ५४ लाख २४ हजार ८३६ जनाले पहिलो मात्रा र ४६ लाख ६७ हजार ३२८ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रतिशतका हिसाबले पहिलो खोप लगाउनेको संख्या १८ र दुवै खोप लगाउनेको १५. ४ प्रतिशत पुगेको मन्त्रालयको तथ्यांक छ। नेपालले कूल जनसंख्याको ७१.६ प्रतिशत अर्थात २ करोड १७ लाख ५६ हजार ७२३ जनसंख्यालाई खोप लगाउने लक्ष्य लिएको छ।
नेपालमा गत माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरिएको थियो। सरकारले आगामी चैत मसान्तसम्म उमेर समूहका हिसाबले खोप लगाउन योग्य सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ।
असोज मसान्तसम्म खोप लगाउन योग्य नागरिकमध्ये १ तिहाइलाई खोप लगाइसक्ने लक्ष्य लिइएको छ।अहिलेसम्म एक करोड ३३ लाख भन्दा बढी खोप नेपालले प्राप्त गरिसकेको छ। जसमध्ये १ करोड ९२ हजार १६४ डोज खोप प्रयोग भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
थप खोप आउने क्रम जारी रहेको मन्त्रालयले जनाएको छ। नेपालमा अहिलेसम्म कोभिशिल्ड, भेरोसेल, जोनसन एण्ड जोनसन र जापानमा निर्मित एस्ट्राजेनेका र स्वीडिस एस्ट्राजेनेका खोप प्रयोग भइरहेको छ।
COMMENTS