काठमाडौं, ५ कार्तिक । कोभिड–१९ विरुद्धको फाइजर खोप सोमबार नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य सेवा विभागको खोप महाशाखा प्रमुख सागर दाहालका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत १ लाख डोज फाइजर खोप सोमबार नेपाल आइपुग्ने भएको हो। उक्त खोप अमेरिकी कम्पनी फाइजर–बायोएनटेकले उत्पादन गरेको हो । फाइजरको खोप कात्तिक २८ गतेदेखि लगाउने गरी तयारी भइरहेको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागका अनुसार कात्तिक २८ गते विश्व मधुमेह दिवसको अवसर पारेर खोप कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ ।
यो खोप कसले पाउँछन् ?
सरकारले विशेषतः १२ वर्षभन्दा माथि उमेर समूहका किशोर किशोरीलाई लक्षित गरी यो खोप ल्याउन लागेको हो । तर सोमबार आइपुग्ने खोपको मात्रा कम भएकाले १२ वर्षभन्दा माथिका जुनसुकै उमेर समूहका क्यान्सर, मुटु, मधुमेह, दम, एचआईभी जस्ता दीर्घरोगीलाई प्राथमिकतामा राखेर खोप दिने तयारी सरकारको छ । दीर्घ रोगीहरुको रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले त्यस्ता व्यक्तिहरुलाई पहिलो प्राथमिकतामा राखिएको छ ।
यो खोप माइनस ८० डिग्री तापक्रममा भन्डारण गर्नुपर्ने हुन्छ । त्यसैले यसलाई केन्द्रीय खोप भण्डारणमा राख्ने व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खोप कार्यक्रम सञ्चालनका लागि केन्द्रीय खोप भण्डारणबाट २ देखि ८ डिग्री तापक्रममा खोप पठाउन सकिने र ३१ दिनभित्र उक्त खोप प्रयोग गरिसक्नुपर्ने छ । स्वास्थ्य सेवा विभागको खोप महाशाखा प्रमुख सागर दाहालका अनुसार आइतबार यो खोपका लागि आवश्यक पर्ने घोलकलगायत अन्य सामग्री आइपुग्ने छन् भने सोमबार खोप आइपुग्ने छ । यो खोप अन्यभन्दा फरक भएकाले यसको प्रयोग गर्ने तरिका पनि भिन्न रहेकोले विशेषज्ञ सेवा सञ्चालन भएका अस्पतालबाट खोप कार्यक्रम सञ्चालन गर्न लागेको महाशाखा प्रमुख दाहालले जनाएका छन् । यो खोप लगाउने स्वास्थ्यकर्मीलाई पनि तालिम दिने तयारी भइरहेको र आगामी दिनमा आउने थप खोप लगाउन पनि तालिम लिएका जनशक्ति प्रयोग गरिने छ ।
यो खोप देशभरका २४ वटा अस्पतालबाट सञ्चालन हुने बताईएको छ । काठमाडौं उपत्यकाभित्र ९ वटा अस्पताल र विशेषज्ञ सेवा सञ्चालन भएका सबै प्रदेशका अस्पताल रहने गरी १५ वटा अस्पतालबाट यो खोप कार्यक्रम सञ्चालन हुने छन् । मंगलबार मात्रै अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले १२ देखि १८ वर्ष उमेर समूहका व्यक्तिमा फाइजर खोप प्रभावकारी हुने निष्कर्ष निकालेको छ । गत जुन र सेप्टेम्बर महिनामा गरिएको अध्ययनका आधारमा खोप लगाएपछि सो उमेर समूहका व्यक्ति अस्पताल भर्ना हुनुपर्ने अवस्थाबाट ९३ प्रतिशत सुरक्षित हुने निष्कर्ष निकालिएको छ ।यो खोप लगाएका ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकामा ९०.७ प्रतिशत प्रभावकारी रहेको कम्पनीले दावी गरेको छ ।खोप उत्पादक कम्पनीले दुई हप्ताअघि नै अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनसँग ५ देखि ११ वर्ष उमेरका बालबालिकामा खोप प्रयोगको अनुमति दिन अनुरोध गरिसकेको छ ।अमेरिकाको खाद्य तथा औषधि विभाग (एफडीए) ले १६वर्षमाथिका व्यक्तिमा खोप प्रयोगको पूर्ण अनुमति दिइसकेको छ । त्यस्तै एफडीएले १२ देखि १५ वर्षका बालबालिकाले आकस्मिक परिस्थितिमा खोप लगाउन सक्ने व्यवस्था गरेको छ ।
बिहीबार मात्रै खोप निर्माता कम्पनीले बायोइन्टेक र फाइजर खोपको बुस्टर डोज लगाएकामा ९५.६ प्रतिशत प्रभावकारी हुने सार्वजनिक गरेको थियो ।
यस्ता छन् यसको असर
हालसम्मका परीक्षण अनुसार खोप लगाएका १२ देखि १५ वर्षका बालबालिकामा खोप लगाएको ठाउँमा पीडा हुने,थकान हुने, टाउको दुख्ने, शरीर चिसो हुने, मांशपेशीमा पीडा हुने, ज्वरो आउने र जोर्नी दुख्ने जस्ता साइड इफेक्ट देखिएका छन् ।
COMMENTS