काठमाडौं । नेपालमा कोरोना संकट सुरु भएसँगै संकटमा परेका चलचित्र हलमा दर्शक फर्किन थालेका छन्। दुई वर्षपछि खुलेका हलमा दर्शक फर्काउने सहारा भने बलिउड मुभीको लिनुपरेको छ।असोज २१ देखि खुलेका हलमा लागेको नेपाली चलचित्र ‘डाँडाको बरपिपल’ हेर्न दर्शक नआएपछि अन्य निर्माता डराएका थिए। तर नेपाली चलचित्रकर्मीहरु डराइरहेको अवस्थमा शुक्रबार प्रदर्शनमा आएको रोहित सेट्टी निर्देशित ‘सूर्यवंशी’ ले दर्शकलाई हलसम्म लैजान सफल भएको छ।
कोरोना महामारीका कारण दोस्रो पटक पाँच महिना बन्द भएका सिनेमा हल असोजमा खुले पनि नेपाली चलचित्र लाग्न सकेका थिएनन्। दशैंमा ठूला फिल्म नआउने भएपछि शोभित बस्नेत निर्देशित फिल्म ‘डाँडाको वर पिपल’ फूलपातीमा रिलिज भएको थियो। तर, यो फिल्मप्रति दर्शकको चासो नै गएन।
‘डाँडाको बरपिपल’ को चल्नै नसकेपछि ‘पर्ख र हेर’ को अवस्थामा बसेका निर्देशकहरू पन्छिरहेका बेला हिन्दी फिल्मले दर्शक तानेको हो। तिहारको मौकामा प्रदर्शनमा आएको यो फिल्मले राजधानी र बाहिरका मल्टिप्लेक्सहरुमा दर्शक तानेको छ। शुक्रबार राजधानीका हलहरुमा सूर्यवंशी हेर्ने दर्शकको भीड नै लागेको थियो। नेपालका दर्शकमाझ पनि प्रतिक्षीत ‘सूर्यवंशी’ देशभर सयवटा सिनेमा घरमा एकसाथ प्रदर्शनमा आएको हो। जसलाई नेपाली दर्शकले राम्रो रेस्पोन्स गरे। यसअघि कुनै पनि विदेशी फिल्म नेपालका सयवटा हलमा एकसाथ लागेका थिएनन्। नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभरका १० मेजर स्टेशनमा कूल ५८ शोज यो फिल्मलाई दिएको थियो। यसलाई राजधानीका मल्टीप्लेक्सहरु वान् सिनेमाजले ६ शो, विग मुभिजले ११ शो, कीर्तिपुर सिनेप्लेक्सले ३ शो, एफक्युब सिनेमाजले १२ शो, क्यूज सिनेमाजले ७ शो, आइएनआई सिनेमाजले ९ शो, विएसआर मुभिजले ७ शो र सिडिसी सिनेमाजले ७ शोज दिएका थिए।
सन् १९९३ मा मुम्बईमा शृंखलाबद्ध बम बिस्फोट भयो । यो एक अत्यासलाग्दो र दर्दनाक मात्र होइन, खेदजनक कृत्य पनि थियो । त्यसबेला धराप थाप्न आतंककारीले एक हजार किलो आरडिएक्स (विस्फोटक पदार्थ) मुम्बई भित्र्याएका थिए, जसमध्ये मुम्बई हमलामा ४ सय किलो प्रयोग भयो । बाँकी ६ सय किलो आरडिएक्स कहाँ छ ? यही प्रश्नबाट सुरु हुन्छ फिल्म ‘सूर्यवंशी’को कथा । प्रहरीले सुराक पाएको छ कि, मुम्बईमा अर्को भयानक हमला हुनेवाला छ । र, यसमा त्यही आरडिएक्स प्रयोग गरिदैछ जो २८ बर्षअघि मुम्बई हमलापछि बाँकी रहेको थियो ।
अब प्रहरी सामुन्ने ठूलो चुनौती खडा छ, लुकाइएको आरडिएक्स पत्ता लगाउने र हिन्दुस्तानका शहरलाई संभावित विध्वांसबाट जोगाउने ।
मुम्बईमा भएको बम विस्फोटकको घटना सत्य हो । त्यही घटनामा टेकेर बुनिएको काल्पनिक कथाले ‘सूर्यवंशी’लाई डोहोर्याउँछ । काल्पनिक सही, सूर्यवंशीले दर्शकको ध्यान भड्काउँदैन । बरु कथाको बेगसँगै एकोहोरो बनाउँछ ।
‘सूर्यवंशी’ले यो आशंका मेटिदिएको छ । र, जवाफ दिएको छ, ‘जानेछन्, निर्धक्क जानेछन् ।’ यसका लागि एउटै सर्त बाँकी रह्यो, सिनेमा गजब हुनुपर्यो ।
उसो त रोहित सेट्टीप्रति धेरै अपेक्षा गर्नु बेकार हुन्छ । उनी गहकिलो मुद्दा र घतलाग्दो प्रस्तुतीहरु लिएर हम्मेसी आउँदैनन् । गाडी अनि पुलिसको आश्चर्यलाग्दो चमत्कार देखाउनु चाहि उनको निजी विशेषता हो । यद्यपि उनको फिल्ममा केही त त्यस्तो तत्व हुन्छ, जसले दर्शकलाई अविचलित हलमा बाँधेर राख्न सक्छ । ‘सूर्यवंशी’ त्यसैको एक दृष्टान्त हो ।
कस्तो छ कथा ?
‘सिंघम’ र ‘सिम्बा’ को पूर्ववत् शैलीलाई पच्छ्याउँदै ‘सूर्यवंशी’को कथा अगाडि बढ्छ । यसमा मुम्बई एन्टी टेरोरिज्म स्क्वाडका एक प्रहरी अधिकारी छन्, बीर सूर्यवंशी (अक्षयकुमार) । उनीसँग मात्र दुईवटा कमजोरी छन् । एक, कसैको नाम सही ढंगले याद गर्न नसक्ने । दुई, परिवारप्रति पूर्ण उत्तरदायित्व निर्वाह गर्न नसक्ने । जबकि उनी एक जब्बर प्रहरी हुन्, जो छातीमा गोली लाग्दा समेत आफैलाई उपचार गर्ने डाक्टरसँग रोमान्स गर्न भ्याउँछन् ।
एकातिर उनको प्रेम-जीवनको ब्यारोमिटर चढ्दैछ, अर्कोतिर शहरमा आतंकको बादल मडारिदैछ । मुम्बई शहर, जो पटक–पटक आतंककारीको निसाना बन्यो । यो शहरले एक पछि अर्को शृंखलाबद्ध बम बिस्फोटको घाउ सहनु परेको छ । भनिन्छ, मुम्बईमा अब ती सबैभन्दा भयानक बम हमला हुनेवाला छ । यो गुप्त योजनालाई विफल तुल्याउँदै सिंगो भारतलाई आगोको मुश्लोमा परिणत हुन नदिन सूर्यवंशी कटिबद्ध छ । यसका लागि उनी जहान(परिवार छाडेर किनपनि लागिपरेका छन् भने, विगतमा भएको मुम्बई हमालामा उनले आफ्ना आमा-बुवा गुमाएका थिए ।
शहरमा स्लीपर सेल सल्बलाइसकेका छन् । यसका मास्टर माइन्ड उमर हफीज (ज्याकी श्राफ)ले कठोर बदलाको भावसहित ४० जनाको समूहलाई भारतका विभिन्न शहरमा पठाएका छन्, जसलाई ति शहरहरुमा आ-आफ्नै पेशा-व्यवसाय गरेर बस्न छुट छ । उनीहरुले त्यसबेलासम्म कसैको हानी पुर्याउने छैनन्, जबसम्म सही समय आउँदैन । र, यस्तो समय आउन बर्षौं बर्ष लाग्न सक्छ ।
आतंककारीहरु चाहन्छन्, हिन्दुस्तानका शहरमाथि आगोको लप्काहरु उठेको हेर्न । र, सम्पूर्ण शहर खरानी भएको । किन ?
किनभने हिन्दुस्तानमा उनीहरुमाथि ज्यादती भएको छ । कतिले त्यहाँ आमाबुवा गुमाए, कतिले बालबच्चा । अर्थात हिन्दुस्तानले उनीहरुको जीवनमा कहिल्यै नमेटिने चोट दिएको छ, जसको बदला लिन उनीहरुले आतंकको बाटो अपनाएका छन् । र, मुस्लिमको मुखुण्डो ।
सूर्यवंशी भन्छन्, ‘इस देश मे जितनी नफरत कसाब के लिए है, उतनी ही इज्जत कलाम के लिए भी है ।’ अर्थात हिन्दुस्तानले मुस्लिमलाई हेलाहोचो गरेको छैन । बरु श्रद्धा गर्छ । सम्मान गर्छ । तर, मुस्लिमको आडमा आतंक मच्याउनेप्रति भने हिन्दुस्तान कोमल छैन । कठोर छ ।
उनीहरु भन्छन्, ‘टेरोरिज्मले अरुलाई होइन आफ्नै मुलुकलाई हानी भएको छ । टेरोरिज्मको कारण त्यती सुन्दर देशमा टुरिज्म फस्टाएको छैन ।’
तर, बदलाको भाव बोकेका ति समूह यस्ता अर्ति सुन्न तयार छैनन् । उनीहरुको एकमात्र ध्येय छ, जसरी पनि हिन्दुस्तानका शहरलाई खरानी बनाइदिने । अब यो लडाई कहाँ पुगेर टुंगिन्छ ? बर्षौंदेखि विच्छ्याइएको आतंकको जालोलाई प्रहरी अधिकारीले कसरी ध्वस्त बनाइदिन्छ ?
२ घण्टा २५ मिनेट फिल्मले यसैको जवाफ खोज्छ ।
रोहितको जादु
‘खतराका खेलाडी’ रोहित सेट्टी र ‘खेलाडीका खेलाडी’ अक्षयकुमारको एक्सन–थ्रिलर फिल्म हो, सूर्यवंशी । बलिउडले पटक-पटक बुन्ने आतंककारीको कथालाई यसले नविकरण गरेको छ । आतंककारी र प्रहरीबीचको घम्साघम्सीबीच फिल्मको मूल कथा बग्छ । पूर्ववत् रुपमै मुस्लिम अनुहारमा आतंककारीको मुखुण्डो पहिर्याइएको छ । तर, असली मुस्लिम आतंककारी छैनन् भन्ने कुरा पनि पुष्टि गर्न खोजिएको छ ।
बम विफस्फोट हुने भयले तितरबितर हुँदै गरेको एक व्यस्त गल्लीमा जब गणेशको प्रतिमालाई जोगाउन मुस्लिमहरुले हातेमालो गर्छन्, यस्ता दृश्यहरुले धार्मिक सहिष्णुताको कुरालाई अरु प्रगाढ बनाउन खोजिएको छ । मस्जिदको पृष्टभूमीमा गणेशको प्रतिमालाई देखाएर सबै धर्म, जातजातिप्रति सम्मान पनि दर्शाइएको छ ।
रोहितको फिल्ममा गाडीको रोमाञ्चक खेल किन पो छुट्थ्यो र ? उनले सूर्यवंशीमा पनि भरपुर मात्रामा गाडी उडाउने, पड्काउने काम गरेका छन् । उनको एक्सन-कोरियोग्राफी भव्य छ । सिनेम्याटोग्राफी र ब्याकग्राउन्ड स्कोरको तालमेलले सिनेमा हलको रौनक बढाइदिन्छ ।
तर, मध्यन्तरअघि कथा जति तिब्रताका साथ अगाडि बढेको छ, त्यसपछि यताउता अल्झिएको छ । परिवार–प्रेमलाई जोड्न र हास्य खुराकहरु समेट्न खोज्दा कथा धीमा बनेको छ । सिम्बा (रणवीर सिंह) र सिंघम (अजय देवगण)लाई प्रवेश गराएर क्लाइमेक्समा जसरी धमाका देखाउन खोजिएको छ, त्यस विपरित मूल कथाको गाम्भीर्यता फितलो बनेको छ । एक्सनमा बढी हाँसो(मनोरञ्नन पस्कदा डरलाग्दा आतंककारीहरु समेत जोकर जस्तै बन्न पुगेका छन् ।
आखिर जे भएपनि रोहित सेट्टीको आत्मविश्वासले सही नतिजा दिएको छ । लामो सून्यता र सन्त्रासपछि सिनेमा हलको चहलपहल बढाइदिएका छन् । ‘सूर्यवंशी’ले यो सावित गरिदिएको छ कि, अब दर्शक निर्धक्क हलमा आउनेछन् । बस्, फिल्म फिल्म जस्तै हुनुपर्यो।
COMMENTS