ओमिक्रोन फैलिएसँगै युरोपमा प्रतिबन्धात्मक नियम घोषणा

पेरिस, ८ पुस । कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण तीव्र बन्दै गएपछि कतिपय युरोपेली मुलुकले प्रतिबन्धात्मक नियम घोषणा गरेका छन् ।जर्मनी र पोर्चुगलले क्रिसमस (डिसेम्बर २५) लगत्तै लागू हुने गरी प्रतिबन्ध तथा सामाजिक दूरी कायम गर्नुपर्ने नियमहरूको घोषणा गरेका छन् ।

नेदरल्यान्डमा सोमबारदेखि नै देशव्यापी लकडाउन गरिएको छ । क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको समयमा गरिने हुने जमघटका कारण संक्रमण थप फैलन सक्ने भन्दै लकडाउन गरिएको अधिकारीहरूले जनाएका छन् । नेदरल्यान्ड्सले जारी गरेका नियमहरू युरोपकै छन् ।नयाँ नियमअनुसार नेदरल्यान्डमा अत्यावश्यकबाहेकका पसल, मदिरालय, जिमखाना, सैलुनलगायतका सार्वजनिक स्थान जनवरी मध्यसम्मका लागि बन्द हुनेछन् ।

प्रधानमन्त्री मार्क रुटले नयाँ प्रतिबन्ध उल्लंघन गर्नेलाई कडा सजाय गरिने चेतावनी दिएका छन् । यसैगरी, विद्यालय जनवरी ९ सम्मका लागि बन्द गरिएको छ भन रेस्टुराँले टेकवे सेवा दिन सक्ने जनाइएको छ । स्पेनमा संक्रमितको संख्या कोभिड सुरु भएयताकै उच्च भएको बीबीसीले उल्लेख गरेको छ ।फ्रान्सका स्वास्थ्य अधिकारीले केही दिनमै कोभिड संक्रमितको संख्या एक लाख नाघ्ने चेतावनी दिएका छन् । हाल फ्रान्समा दैनिक ७० हजारभन्दा बढीमा भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमन्त्री ओलिभियर भेरानले फ्रान्समा जनवरीसम्म सबैभन्दा बढी ओमिक्रोन संक्रमित हुने जनाएका छन् । जर्मनीले २८ डिसेम्बरदेखि १० जनाभन्दा बढी भेला हुन नपाउने नियम घोषणा गरेको छ । त्यस्तै, रात्रिकालीन क्लब बन्द गरिनुका साथै फुटबल खेल बन्द स्टेडियमभित्र खेलाइने जनाइएको छ । ‘कोभिड–१९ ले क्रिसमस छुट्टी लिँदैन,’ जर्मनीका चान्सलर ओलाफ स्कोल्जले भने, ‘हामी यो लहरलाई बेवास्ता गर्न सक्दैनौं ।’

त्यस्तै, पोर्चुगलले डिसेम्बर २६ देखि नै रात्रिकालीन क्लब बन्द हुने र जनवरी ९ सम्म घरबाटै काम गर्न आग्रह गरिएको छ । सार्वजनिक स्थानमा बढीमा १० जनासम्म मात्र भेला हुन दिइने जनाइएको छ । फिनल्यान्डले भने डिसेम्बर २४ देखि नै कतिपय क्षेत्रमा प्रतिबन्ध लगाएको छ ।

बार तथा रेस्टुराँ तीन साताका लागि बन्द हुने र फिनल्यान्ड पस्ने यात्रुले अनिवार्य कोभिडको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने जनाइएको छ । बेलायतमा क्रिसमसका लागि सामाजिक दूरी पालना गर्नुपर्नेलगायतका नियम लागू गरिएको छ ।पछिल्लो समय विश्वभर तीव्र रूपमा फैलिइरहेको ओमिक्रोनलाई विश्व स्वास्थ्य संगठनले जोखिमपूर्णको सूचीमा राखिसकेको छ ।

यो हालसम्मकै उच्च रूपमा उत्परिवर्तित भेरिएन्ट हो । नयाँ भेरिएन्ट फैलने क्रम तीव्र बन्दै गएपछि विभिन्न देशमा कोभिडविरुद्धको खोपको बुस्टर डोज दिने कार्यलाई प्राथमिकता दिइएको छ । बुस्टर डोजले ८० देखि ८५ प्रतिशत सुरक्षा प्रदान गर्ने विज्ञहरूको भनाइसँगै अधिकांश देशले खोप अभियान तीव्र पारेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board