हिउँदका घमाईला दिनमा हिमालकाे मनाेरम दृश्यका लागि गाजा दह

बागलुङ, ११ पुस । जैमिनी नगरपालिका–३ दमेकमा रहेकाे प्रकृतिको भव्यतामा रमाउने जो कोहीका लागि यो एक अनुपम थलो गाजा दह हो । यो सदरमुकामदेखि नजिकै रहेकाे गाजाको सौन्दर्य दहमा मात्र सीमित छैन पर्यावरण र संस्कृति पनि यहाँका चिनारी हुन् ।

हरेक ऋतुकालमा भिन्न दृश्य देखिने याे दहमा कहिले हिउँ, कहिले लालीगुराँसले ढाकिएकाे हुन्छ । दुई हजार ४८० मिटर उचाइमा रहेको गाजाले सजिलै पर्यटकलाई लोभ्याउँछ । त्यहाँ पुग्न बागलुङ बजारदेखि मोटरमा २४ किमी, पैदल चार/पाँच घण्टाको यात्रा तय गरे पुग्छ । पदयात्राका लागि अझ रोमाञ्चक रहेकाे याे दह जाँदा गाउँ, पाखा र वन आनन्द लिन सकिन्छ । बाटोमा हिमाल हेर्दै हिँड्नुको मज्जासँगै सिगानाको बौँडेचौर, रेशको चापखर्कलगायत आसपासका लोभलाग्दा ठाउँ पनि यही बाटोमा पर्छन् । वनकाे माझ दह, माथिपट्टि गाउँ अनि दहछेउ देखिने सेताम्मे हिमालले निकै आनन्द दिन्छ ।

गाजा दह संरक्षण समितिका अध्यक्ष गोपाल छन्त्यालले पूर्वाधार विकास गर्न सके उल्लेख्य पर्यटक भित्र्याउन सकिने बताए । “सोचेजसरी काम हुन सकेको छैन, बजेट, स्रोतसाधनको कमी छ”, उनले भने, “राज्यका निकायले लगानी बढाए हामी यहाँको विकासमा खटिन तयार छौँ ।” चार वर्षअघि पर्यटन कार्यालय पोखराको सहयोगमा दह वरिपरि तारजाली र पर्खाल लगाउने काम भएको थियो । घरबास कार्यक्रमका लागि प्रदेश सरकारबाट आएको रु १० लाख बजेटबाट सांस्कृतिक भवन बनाइएको बताए ।

उस्तै गाउँको रहनसहन, खेती प्रणाली र सांस्कृतिक वैभव । स्थानीय छविलाल पुनका अनुसार गाजा दहलाई पहिलेपहिले रुद्रताल पनि भनिन्थ्यो । सो दहको पुरानो स्वरुप खल्बलिएको छैन । सौन्दर्य बिग्रन नदिन संरक्षण गरिएको छ । हिउँदका घमाइला दिनमा दहमा छचल्किने हिमालका दृश्य कैद गर्न आगन्तुक लालयित हुन्छन् । त्यहाँबाट धवलागिरि, माछापुच्छ्रे अन्नपूर्णलगायतका हिमशृङ्खलाको दृश्य पनि हेर्न सकिन्छ । दह परिसरमा बराह थान पनि रहेकाे छ । “वर्षेनी वैकुण्ठ चर्तुदशीमा यहाँ ठूलो मेला लाग्छ, यो परम्परादेखि नै चल्दै आएको हो”, ६६ वर्षीय पुनले भने, “गाजाको पहिचान प्रकृति र संस्कृतिसँग जोडिएको छ ।”

व्यवसायी मिलेर पर्यटकलक्षित ‘सिद्धबराह सामुदायिक होमस्टे’ खोलेका छन् । घरबासमा आउने पाहुनालाई उनीहरु स्थानीय परिकार चखाउँने काम पनि भएकाे छ । “अहिले तीन घरमा मात्र होमस्टे सेवा छ, दैनिक २० जना जति पाहुना हामी राख्न सक्छौँ”, सञ्चालक प्रेम छन्त्यालले भने । पाहुना बढी हुँदा छरछिमेकमा व्यवस्था गर्ने गरिएको उनकाे भनाइ छ । “पाहुनाको रोजाइअनुसार नै परिकार तयार पार्छौं, मूल्य पनि चल्तीअनुसारको छ, धेरै महँगो छैन”, सञ्चालक छन्त्यालले भने । सडकको पहुँच, प्रचारप्रसार, घरबासलगायत सुविधा पाइन थालेपछि पछिल्लो समय गाजा दहमा पर्यटकीय आकर्षण बढेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board