काभ्रेपलाञ्चोक, १५ पुस । गत साउन महिनादेखि कोरोना सङ्क्रमणदर ओरालो लाग्दै गर्दा होटल व्यवसायी व्यवसाय तङ्ग्रनेमा निकै खुसी भएका फेरि आएकाे तेस्राे लहर (ओमिक्रोन) काे प्रक्षपेणले निराश बनेका छन् ।
धुलिखेल हाेटल व्यवसायी प्रह्लाद प्याकुरेलका अनुसार आफ्नो होटलमा चहलपहल बढ्न थालेसँगै कार्यक्रमका बुकिङले उनलाई उत्साह पनि थप्दै लगेको थियो तर वर्ष नबत्दै उनलाई चिन्ता लागेकाे बताए । “व्यवसायले रुप फेर्लाझै लागेको थियो, कोरोना तेस्रो लहरको चिन्ताले सताउन थालिसक्यो”, उनले भने । कोरोनाका दुई वटा लहरले होटल व्यवसायीलाई निकै ठूलो घाटा ब्यहोर्न बाध्य बनाइरहेका बेला पुनःतेस्रो लहरको कोरोना महामारी (ओमिक्रोन) प्रक्षेपणले उनी लगायत धुलिखेलका होटल व्यवसायीलाई हाल थप चिन्तित बनेका छन् ।
क्षेत्रीय होटल सङ्घ (हान) का सचिव ज्योत्स्ना सैँजुले भने, “नेपालमा कोरोना तेस्रो लहर ओमिक्रोनको डरले होला धुलिखेलमा विदेशी पाहुना आउन छाडिसके, हाल आन्तिरिक पर्यटक मात्रै धुलिखेल आउनुहुन्छ, तर यसलाई सन्तोषजनक मान्नुपर्छ ।” उनका अनुसार कोरोना महामारीका कारण होटल–व्यवसाय धरासायी हुँदा धुलिखेलका चार होटल बन्द भएका छन् । “होटल निर्माणको ब्याज तथा घर भाडासमेत सतर्न नसक्दा धुलिखेलका होटल बन्द हुनुपर्यो, नयाँ व्यवसायी यो पेशामा आउन डराइरहनुभएको छ”, उनले भने । २० कोठा क्षमता रहेको उनको होटलमा स्वास्थ्य मापदण्ड अनपाई पाहुनालाई सेवा प्रदान गर्दै आइएको छन् ।
पर्यटकीयस्थल धुलिखेलमा ठूलासाना गरी करिब ६० होटलमा एक हजार बेड क्षमता छन् । काभ्रेपलाञ्चोकस्थित धुलिखेलको होटल–पर्यटनमा मात्रै करिब रु ५० अर्बको लगानी रहेको सङ्घले जनाएका छन् । यहाँ करिब तीन हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । गत चैतमा दोस्रो लहर सुरु भएसँगै वैशाख अन्तिम सातासम्म धुलिखेलका होटलमा बुकिङ रद्द भएका थिए । जेठ, असार र साउनमा होटल ठप्पै रह्यो । कोरोनाको जोखिमपछि हाल पुनः असोज महिनादेखि बामे सर्दै गरेका होटल बन्द हुने हो कि भन्ने चिन्ताले सताउने गरेको गुनासो आउन थालेको हानका अध्यक्ष प्रेमकण्ठ श्रेष्ठले बताए ।“तेस्रो लहरको कोरोना आउने र सावधानी अपनाउनुपर्ने सूचना सरकारी पक्षबाटै आउन थालेपछि होटल व्यवसायी निकै तनावमा छन्, होटल व्यवसाय चौपट हुने भयो, व्यवसायी टाट पल्टने भए । हालसम्म त आन्तरिक पर्यटक बढ्दै छन्, तर पछिल्लो दिनमा कोरोना सङ्क्रमण बढ्दै गएपछि विदेशी पाहुनाको चहलपहल घट्दै गएको छ ।”
सङ्घले यसअघि ‘कल्चर एण्ड नेचर’, ‘फिलिङ सुरपरम्यान’ र ‘तीनधारे झरना’लगायत विशेष प्याकेज सञ्चालन गर्ने योजना अघि सारेको थियो । साथै जीपलाइनिङ, हाइकिङ र हजार सिंढी चढ्दै देवीस्थानमा रहेको कालीदेवीको दर्शन तथा शान्ति वनस्थित बुद्ध मूर्तिको अवलोकन प्याकेजमा अनिवार्य गराइएको थियो । उनले भने, “हाल पाहुनाको चाहनामा जीपलाइनिङ, नमोबुद्ध तथा जिल्लाकै पर्यटकीय स्थान घुमाउन सकेका छौँ, यो पनि बन्द नहोस् भन्ने चाहन्छौँ ।” धुलिखेल राजधानीबाट नजिकको पर्यटकीयस्थलसमेत रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको अलावा काठमाडौँ, भक्तपुर र ललितपुरका कार्यक्रमसमेत हुने गर्दथे । पर्यटकीयस्थल धुलिखेल काठमाडाैँबाट करिब ३० किलोमिटरको दूरीमा मात्र रहेकाे छ ।
COMMENTS