काठमाडौं, २५ पुस। शहरी क्षेत्रमा यति धेरै भिडभाड छ, त्यो संख्या बढ्दै जान्छ । सबै मानिसमा परीक्षण गर्ने हो भने यहाँ हजारौंंमा पोजेटिभ आउन सक्छ । काठमाडौंमा यति बाक्लो र ठूलो जनसंख्या छ, धेरै जनसंख्यामा संक्रमण फैलिन सक्छ । अहिले प्रशस्त मात्रामा अस्पतालमा संक्रमितहरु थपिन थालेका छन् । आइसियूमा भर्ना हुनेको संख्या बढेको छ । लक्षण भएका संक्रमितहरुको संख्या पनि बढिरहेको छ । अहिले बढ्दै गएको संक्रमण रोक्नका लागि मुख्यतः दुईवटा काम गर्नुपर्छ । पहिलो काम– देश बाहिरबाट आउनेहरुलाई क्वारेन्टिनमा राख्नुपर्छ । होम क्वारेन्टिन सम्भव छ भने होम क्वारेन्टिन, यो सम्भव छैन भने संस्थागत क्वारेन्टिन, होटल हुन सक्ला, सामुदायिक सेन्टर हुन सक्ला । त्यस्ता क्वारेन्टिनहरुमा राख्नुपर्छ । जो पोजेटिभ आउँछ, उसलाई आइसोलेशन सेन्टरमा राख्नुपर्छ ।
अर्को विधि भनेको भिडभाड हुने कुरा अब तुरुन्त बन्द गर्नुपर्छ । अहिलेका लागि स्कुल कलेजहरु बन्द गर्नुपर्छ । मान्छेहरु यति जनाभन्दा धेरै जम्मा हुन नहुने भनेर सरकारले भन्नुपर्छ । यी कुरा सरकारले तय गर्नुप¥यो । भिडभाड हुने खालका सबै गतिविधि तत्काल बन्द गर्नुपर्छ । भिडभाड हुने काम राजनीतिक दलले गरेको भनेर छोड्नुहुँदैन । स्कुल कलेजले गरेको भनेर छोड्नुहुँदैन । बिहे, ब्रतबन्ध, भोज भनेर छोड्नुहुँदैन । हामीले अहिले यति गरेनौं भने भोलि संक्रमणको अवस्था खराब दिशातर्फ जानेछ ।तेस्रो रोकथामको विधि भनेको जहाँ पोजेटिभ भेटिन्छ, त्यहाँ कट्क्याक्ट ट्रेसिङ गर्नुपर्छ ।
जस्तो महाधिवेशनमा सहभागी माओवादी नेताहरु संक्रमित भए भने त्यो भेलामा सहभागी भएका सबै मानिसको टेष्ट गर्नुपर्छ । त्यसो गरिएन भने उसले अर्कोलाई सार्छ । दुई, चार, आठ, सोह्र, बत्तीस, चौसठ्ठी हुँदै यो संक्रमण सर्ने भएकोले जो पोजेटिभ छ, उसलाई छुट्टै राखिहाल्नुपर्छ । टेस्टिङ, आइसोलेशन र क्वारेन्टिन यी तीनवटा विषयलाई एकदमै जोड दिनुपर्छ । कोभिड संक्रमण सुरु भएका बेला यी कुरा व्यवस्थित ढंगले भएको थियो । पोहोरको वर्ष मान्छे क्वारेन्टिनमा बसेका कारण संक्रमण सार्नबाट रोकिएको थियो । गत वर्ष हामीले प्रभावकारी ढंगले व्यवस्थापन गर्न सकेनौँ । हामीले नेपालको सीमा क्षेत्रमा होल्डिङ स्थल बनाउने भनेर जिम्मा दिएका थियौं । २ अर्ब १४ करोड रुपैयाँमा त्यो बनाउने भनिएको थियो । त्यो पनि ७ प्रदेश र एउटा केन्द्रमा गरेर ८ हजार क्षमताको होल्डिङ सेन्टर बनाउने भनेको अहिलेसम्म पनि पूरा भएको रहेनछ । सरकारको होल्डिङ सेन्टर तयार छैन भने होटल हुन्छ कि कहाँ हुन्छ त्यो व्यवस्थापन गरिहाल्नुपर्छ ।
कोभिड संक्रमितका लागि अस्पतालले गर्ने कुरा धेरै छैनन् किनभने कोभिड १९ को कुनै उपचार छैन । मान्छे बिरामी भयो, अस्पताल भर्ना भयो भने उसका लागि सहयोगी उपचार गर्ने हो । अक्सिजन पुगेन भने अक्सिजन दिने हो । थप अरु संक्रमण हुन नदिने हो । आइसियू, भेन्टिलेटर चाहिनेहरुलाई त्यसको सुविधा बढाउनुपर्छ । परार सालको भन्दा यसपटक यो सुविधा झन्डै ३ गुणाले व्यवस्थापन भएको छ । गत वर्ष अक्सिजनको सुविधा थिएन, अहिले सत्र/अठार ठाउँमा प्लान्ट नै स्थापना भएको छ । अस्पतालहरुको क्षमता बढेको छ । अस्पतालहरुमा स्वास्थ्यकर्मीको जनशक्ति बढाउनुपर्छ ।
अस्पतालका लागि चाहिने कमोडिटिजहरु, स्वास्थ्य उपकरण, सामानहरु, औषधिहरुको व्यवस्था गर्नुपर्छ । अस्पतालले जति गरे पनि धेरै संख्यामा संक्रमण भयो भने अस्पतालको उपचारले मात्र मान्छे बचाउन सक्दैन ।कोभिड संक्रमण रोक्नका लागि अब सबै संयन्त्रहरुलाई परिचालन गर्नुपर्छ । यो सरकार, स्वास्थ्यकर्मी, आम नागरिकको साझा समस्या हो । यसलाई रोकथाम तथा नियन्त्रणका लागि सबैको जिम्मेवारी उत्तिकै छ । उसले गर्दा हुन्छ भनेर कसैले पन्छिएर हुँदैन, यसबिरुद्ध सबै पक्ष मिलेर जानुपर्छ ।
संयुक्त प्रयत्न गर्नुपर्छ अनिमात्र कोभिडको लडाई जित्न सकिन्छ, हैन भने धेरै मान्छे फेरि पनि संक्रमित हुने, मृत्युको जोखिममा पुग्ने खतरा हुन्छ । अहिले सुरु भएको कोरोनाको तेस्रो लहर घट्दैन यो बढ्दो क्रममा रहेको छ । यो बढिसकेको छ, सरकारले भन्न त बाँकी छ । सरकारले तेस्रो लहर आउन सक्छ भनिरहेको छ तर एउटा ब्यक्तिको हिसावले मैले भन्दाखेरी तेस्रो लहर सुरु भइसक्यो ।
COMMENTS