टान अध्यक्षमा त्रिपक्षीय भिडन्त

काठमाडौँ, २६ पुस । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) को अध्यक्ष पदका लागि तीन व्यवसायी प्रतिस्पर्धी चुनावी दौडमा रहेका छन् ।

आगामी माघ २८ गतेका लागि तय गरिएको टानको ४३औँ साधारणसभा एवं निर्वाचनमा अध्यक्षका तीनै जना प्रत्यासीले उम्मेदवारी घोषणा गरेर चुनावी प्रतिबद्धतापत्र समेत सार्वजनिक गरिसकेका छन् । साथै उहाँहरुले निर्वाचनमा माहोल आफ्नो पक्षमा पार्ट व्यावसायिक दौडधूप र छलफललाई तीव्रता दिएका छन् । टान अध्यक्षका लागि पर्यटन व्यवसायी नीलहरि बाँस्तोला, राजेन्द्रप्रसाद सापकोटा र बोधराज भण्डारी विभिन्न माध्यमबाट उम्मेदवारी घोषणा गर्दै प्रचारप्रसारमा जुएका छन् । प्रत्यासीमध्ये बाँस्तोला टानका पूर्वउपाध्यक्ष हुन् भने भण्डारी र सापकोटाले टान कार्यसमितिमा रहेर काम गरिसकेका छन् । टानको अध्यक्ष, पदाधिकारी र सदस्यगरी कूल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गरिनेछ । टान निर्वाचनका लागि मिति घोषणा भएसँगै आकाङ्क्षी उम्मेदवारले आफ्ना प्रतिबद्धतासहित चुनावी प्रतिस्पर्धामा लागेको टानका अध्यक्ष खुम सुवेदीले बताए । कोभिड महामारीको तेस्रो लहरको त्रास रहेकाले पूर्वनिर्धारित कार्यक्रम हुन्छ कि हुँदैन यकिन भएको छैन । यद्यपि, निर्वाचनको माहोल बनाउन उम्मेदवार मैदानमा उत्रिसकेका छन् । टानमा करिब एक हजार ८०० व्यवसायी आबद्ध छन् ।

बाँस्तोलाले नेपालको पर्यटन क्षेत्रमा गौरवमय इतिहास बोकेको टानलाई अझै सशक्त व्यावसायिक संस्थाका रुपमा अगाडि बढाउनका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए । उनले नेपालको पर्यटन उद्योगको मुख्य आधार नै पर्वतीय पर्यटन भएकाले कोभिडले थलिएको समग्र पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न टानको नेतृत्वमा आउन उम्मेदवारी दिएको उल्लेख गरे । अध्यक्षका अर्का प्रतिस्पर्धी व्यवसायी सापकोटाले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । सापकोटा नेपाल पर्यटन बोर्डका पूर्वसञ्चालक समिति सदस्यसमेत हुन् । पर्यटन क्षेत्रको प्रवद्र्धनमा प्रभावकारी भूमिका खेल्ने उद्देश्यले टान नेतृत्वमा आउन चाहेको उन्ले सुनाए । उनले भने, “निजी क्षेत्रबाट सञ्चालित टानको धुमिल हुन लागेको अस्तित्वलाई बचाउन र टानको गरिमालाई उँचो बनाउन मेरो भूमिका रहन्छ, निजी क्षेत्रको साझेदारिताका लागि गठित पर्यटन बोर्ड र टानको सहकार्य बढाएर प्रवद्र्धनात्मक कामलाई अघि बढाउन जरुरी छ ।”

पर्यटन क्षेत्रमा लामो अनुभव भएका व्यवसायी भण्डारीले पनि आफ्ना प्रतिबद्धता पनि सामाजिक सञ्चालमार्फत सार्वजनिक गरेका छन् । उनले टान र टानका साधारण सदस्यप्रति उत्तरदायी भएर चुनावी खर्च कम गर्ने र उम्मेदवारी दर्ता शुल्क तथा बढीमा एक पन्ने प्रतिबद्धता पत्रको छपाइ खर्च मात्र हुने बताए । उनले निर्वाचनमा कुनै सदस्यको सदस्यता नवीकरण गरिदिने, फजुल खर्च नगर्ने, भेला र भाषणबाजी नगर्ने बताए । कुनै राजनीतिक दल र नेतासँग टानका विषयमा छलफल, सहमति या सम्झौता नगर्ने प्रतिबद्धता जनाउँदै भण्डारीले पदयात्रा, पर्वतारोहण व्यवसायको प्रवद्र्धन, संरक्षण, विकास र बिस्तारका लागि पूर्णरुपमा प्रतिबद्धता जनाए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board