मङ्गलबारे, २७ पुस । इलाम बजार आउँदै हुनुहुन्छ आउँदै हुनुहुन्छ भने तपाईँलाई इलामचोक बजारमा राखिएको चिया टिप्दै गरेको मूर्तिले स्वागत गर्नेछ । यसका लागि इलाम नगरपालिकाले चिया टिप्दै गरेको मूर्ति निर्माण गरी स्थापना गरेको छ । चियाको बोटबाट चिया टिपेर थुन्सेमा लगाउँदै गरेको झैँ देखिने मूर्ति यहाँको पहिचान भएको नगरपालिकाले जनाएको छ ।
मूर्तिलाई सदरमुकामस्थित इलामचोकमा राखिएको छ । झापा हुँदै मेची राजमार्ग भएर आउने पाहुनालाई लक्षित गरेर निर्माण गरिएको मूर्ति जिल्लाको संस्कृतिको प्रवद्र्धन काशेढुङ्गाका रुपमा काम गर्ने जनाइएको छ । अढाइ सय किलोको सो मूर्ति चर्चित मूर्तिकार विष्णु श्रेष्ठले बनाएका हुन् । जिल्लामा चिया बगान स्थापना गर्ने गजराज सिंह थापा र शङ्खधर साँख्वाको मूर्तिसमेत उनले नै निर्माण गरेको बताइएको छ । इलाम नगरपालिका–७ मा रहेको नेपालको पुरानो चिया बगान र चिया कारखानामा काम गर्ने मजदूरको सम्मानमा इलाम नगरपालिकाले महिला चिया मजदूरको मूर्ति स्थापना गरेको जनाएको छ ।
विक्रम सम्बत १९२० मा इलामका बडाहाकिम गजराज सिंह थापाले चिया रोपन सुरु गरेको इतिहास छ । विसं १९३५ मा बगान रहेको स्थानमा इलाम चिया कारखाना स्थापना गरिएको थियो । श्रम र श्रमजीवी व्यक्ति समाजका निमार्णकता, समृद्धिका सम्वाहक भएकाले उनीहरुको माध्यमबाट मात्रै यो ठाउँलाई समृद्ध बनाउन सकिने इलाम नगर प्रमुख महेश बस्नेतको भनाइ छ । मजदूरको जीवनस्तर उकास्न र उनीहरुको काममा समेत प्रतिष्ठा बढाउन सरकार लाग्नुपर्ने भन्ने सन्देशका साथ मजदूरको मूर्ति चोकमा स्थापना गरिएको इलाम – ७ का वडाध्यक्ष नरेश श्रेष्ठको भनाइ छ । उनले गणतन्त्र केवल शब्दमा मात्रै नभइ व्यवहारमा पनि आएको जनाउँदै तत्कालीन राजाको शालिक रहने स्थानमा चिया मजदूरको सालिक निमार्ण गर्न सकिएको बताए ।
COMMENTS