कोभिड संक्रमणपछि खोप लगाएका मानिसमा ‘सुपर इम्युनिटी’ विकास – अध्ययनको निष्कर्ष

काठमाडौं, १३ माघ । हालै गरिएको एक अध्ययनले कोभिड–१९ को संक्रमणपछि खोप लगाएका मानिसमा निकै राम्रो रोगप्रतिरोधी क्षमता विकास हुने देखाएको छ ।

ओरेगन हेल्थ एण्ड साइन्स युनिभर्सिटीका वैज्ञानिकले गरेको नयाँ अध्ययनले कोभिड(१९ को संक्रमणपछि खोप लगाएका मानिसको शरीरमा सबैभन्दा राम्रो रोगप्रतिरोधी क्षमता (सुपर इम्युनिटी) विकास हुने देखाएको हो । त्यस्तै कोभिड संक्रमणपूर्व नै पूर्ण डोज लगाएका संक्रमितको शरीरमा समेत निकै राम्रो रोगप्रतिरोधी क्षमता हुने अध्ययनको निष्कर्ष छ ।वैज्ञानिकहरूले अध्ययनका क्रममा २ पटक फाइजर खोप लगाएका १०४ जना मानिसको शरीरबाट रक्त नमूना लिएका थिए । रक्त नमूना लिएका मानिसमध्ये ४२ जनालाई कहिल्यै कोभिड–१९ को संक्रमण भएको थिएन भने ३१ जनाले संक्रमणपछि खोप लगाएका थिए ।

त्यस्तै, खोप लगाएपछि संक्रमित हुनेको संख्या पनि ३१ नै थियो ।वैज्ञानिकहरूले ती सबै नमूनामा कोभिड–१९ को अल्फा, बिटा र डेल्टा भेरियन्ट मिसाएका थिए। अध्ययनपछि खोप र प्राकृतिक इम्युनिटीको समिश्रणबाट विकास हुने एन्टिबडी खोपबाट मात्रै विकास हुने इम्युनिटीभन्दा १० गुणा प्रभावकारी हुने पाइएको थियो। यही तथ्यबाटै वैज्ञानिकहरूले खोप लगाउनुअघि संक्रमण भएका मानिसमा रोगप्रतिरोधी क्षमताको मात्रा र गुणस्तर अत्यधिक बढ्ने निष्कर्ष निकालेका हुन्।‘दुवै अवस्था (खोप लगाउनुअघि वा पछि)मा तपाईँले सशक्त अनि निकै धेरै मात्रामा इम्युनिटी प्राप्त गर्नुहुन्छ’, अध्ययनको सह-लेखन गरेका मोलिक्युलर माइक्रोबाइलोजी तथा इम्युनोलोजीका प्राध्यापक फिकाडु टाफेसीले भने ।

टाफेसीका अनुसार कोरोना भाइरस व्यापक फैलिएको हुँदा खोप लगाएपछि समेत संक्रमित हुने संभावना उच्च हुन्छ । तर यसैका कारण सामान्य संक्रमण हुने र यसैबाट सुपर इम्युनिटी प्राप्त हुने पनि उनको भनाइ छ । यसबाहेक, साइन्स इम्युनोलोजी नामक म्यागजिनमा मंलगबार प्रकाशित सो अध्ययनमा खोप लगाएपछि विकास हुने एन्टिबडीमा उमेरले नकरात्मक असर पार्ने भए पनि इम्युनिटीको मात्रा र उमेरबीच कुनै सम्बन्ध नरहेको पनि दाबी गरिएको छ ।त्यस्तै उक्त अध्ययनको निष्कर्षले खोप लगाएपछि हुने नयाँ संक्रमणकै कारण महामारी अन्त्यतर्फ अग्रसर हुन सक्नेसमेत औंल्याएको छ । एजेन्सीको सहयोगमा

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board