चितवन, १७ माघ । कोभिडको तेस्रो लहरसँगै यहाँका होटलमा पर्यटक आउन छाडेपछि व्यवसायीले मजदूर कर्मचारीलाई बिदा दिन थालेका छन् । सरकारले कार्यक्रममा २५ जनाभन्दा बढी उपस्थित नगर्न आदेश गरेपछि होटलहरूमा बुक भएका कार्यक्रम स्थगित भएका छन् ।
सौराहाका होटलमा नयाँ वर्षसँगै गोष्ठी, सेमिनार, विवाहाका कार्यक्रम धेरै बुकिङ् भएका थिए । घुम्न आउने पर्यटकको बुकिङ् पनि राम्रो थियो । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराईका अनुसार कोभिडका कारण अधिकांश कार्यक्रम र पर्यटकका बुकिङ् रद्ध भएका छन् । उनले भने, “अहिले होटलमा एक/दुईवटा कोठा मात्र बुकिङ् हुने गरेका छन् ।” कतिदिन यसरी धान्ने भनेर होटल सञ्चालकहरूले मजदूर एवं कर्मचारीलाई आलोपालो बिदा दिन थालेको उनले बताए । आफ्नो होटलमा १६ जना कर्मचारी रहेकामा अहिले तीन जना बाहेकलाई बिदामा पठाएको उनले जानकारी दिए । १५ दिनपछि अरु तीन जना आउने र अहिले रहेकालाई बिदा दिने गरी व्यवस्थापन गरिएको उनको भनाइ छ ।
कोभिडसँगै सौराहा क्षेत्र सुनसान बनेको छ । जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे कोभिडका कारण व्यवसायी निकै मर्कामा परेको बताउन्छन् ।
सरकारले २५ जनाभन्दा बढीको उपस्थितिमा कार्यक्रम गर्न लगाएको रोक फिर्ता नभएसम्म कार्यक्रम हुननसक्ने व्यवसायीकाे भनाइ छ । सौराहामा १२० होटल रहेका छन् । ती होटलमा पाँच हजार पाँच सयसम्म पर्यटक राख्न सक्ने क्षमता रहेको छ ।
COMMENTS