संविधान कार्यान्वयनमा राष्ट्रियसभाले परिपक्वता देखाएको छः राष्ट्रपति

काठमाडौँ, २१ माघ । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले सङ्घीयता कार्यान्वयन गर्ने क्रममा स्थानीय, प्रदेश र केन्द्रलाई समन्वय गर्न राष्ट्रियसभाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा ‘संसद्मा समिति प्रणालीः राष्ट्रियसभा विशेष’ पुस्तकको विमोचन गर्दै राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनमा राष्ट्रियसभाले परिपक्वता देखाउनाका साथै आफ्नो महत्वलाई स्थापित गर्न सकेकामा धन्यवादसमेत दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारी संसद् सचिवालयद्वारा प्रकाशित ‘संसद्मा समिति प्रणालीः राष्ट्रियसभा विशेष’ पुस्तक शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा विमोचन गर्दै ।

उनले लोकतन्त्रलाई बलियो बनाउन अर्थतन्त्र बलियो हुनुपर्नेमा जोड दिँदै देशको अर्थतन्त्रलाई बलियो बनाउन सम्बन्धित निकायहरुदेखि प्रत्येक नागरिकले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याए । राष्ट्रपतिले भने, “देशको सर्वोपरि हितलाई ध्यानमा राखेर संसद्ले काम गर्नुपर्दछ । यसमा सांसदको भूमिका महत्वपूर्ण हुनेछ ।” संविधानले निर्दिष्ट गरेबमोजिम नै आफूले संविधानको अक्षरशः पालना गर्दै आएको उल्लेख गर्दै राष्ट्रपतिले संवैधानिक अङ्गहरुले बुझाएका प्रतिवेदनहरुमाथि संसद्मा विस्तृत छलफल गर्ने र सम्बन्धित निकायहरुले पनि तिनको कार्यान्वयन गर्ने परिपाटीलाई बलियो बनाउन आवश्यक रहेको बताए । संसद् सचिवालले ‘संसद्मा समिति प्रणालीः राष्ट्रियसभा विशेष’ पुस्तक प्रकाशन गरेर संसदीय गतिविधिहरुको अभिलेखीकरणमा योगदान दिएको र यस्ता प्रकाशनहरुलाई निरन्तरता दिनुपर्ने खाँचो राष्ट्रपतिले औँल्याए । देशको अवस्था राम्रोसँग बुझेको व्यक्तिले नै संसद्मा प्रभावकारी भूमिका निर्वाह खेल्नसक्ने बताउँदै अध्ययन, अनुसन्धानले यसमा सहयोग पुग्ने हुँदा पठनीय संस्कृतिलाई बढाउन संसद् सचिवालयले संसदीय गतिविधिसम्बन्धी पुस्तक प्रकाशनलाई महत्व दिनुपर्ने धारणा राखे । आफूले लामो समयसम्म संसद्मा रहेर धेरै अनुभव हासिल गरेको प्रसङ्ग उल्लेख गर्दै राष्ट्रपति भण्डारीले संसद्मा सांसदले बोलेका कुराहरुको प्रकाशनले आम जनताले आफ्ना प्रतिनिधिहरुका बारेमा जानकारी राख्न सक्ने र यसले संसद्प्रतिको आस्था बढेर जाने विश्वास व्यक्त गरे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board