मान्म, १० फागुन । कालीकोटको नरहरिनाथ गाउँपालिकामा विद्युत्का पोल गाडिएर तार झुण्ड्याएको १५ वर्ष भयो । तर अहिलेसम्म बिजुली बल्न सकेको छैन । नरहरिनाथ गाउँपालिकाका लालु, माल्कोट, कोटबाडा, रुप्सा र कुमालगाउँमा साबिकका गाउँ विकास समितिले विद्युत्का पोल र तार गाडेको १५ वर्ष बित्दा पनि बिजुली बल्न नसकेको हो ।
“गाडेका पोलमा तार झुण्ड्याइएको छ, तर बत्ती बलेको छैन्”, स्थानीय भन्छन्, “अहिलेसम्म पोल र तार हेरेरै बत्ती बल्ने सपना देखिरहेका छौं ।” हचुवाका भरमा विगतमा साबिकका गाविसहरुले विकास अनुदानको बजेट र कर्णाली रोजगार कार्यक्रमको बजेटबाट ती पोल र तारहरु गाडिएका हुन् । पोल गाडिएको वर्र्षौं भइसक्दा पनि त्यहाँ कुनै लघु जलविद्युत् आयोजना पनि बनेका छैनन् । न कतैबाट विद्युत् ल्याउन तयारी भएको छ । विगत १५ वर्षअगाडि गाडिएका ती पोल र झुण्ड्याइएका तारमा अहिले विद्युत् प्रवाह नभइकनै खिया लागेर करोडौँको नोक्सान भएको बताइएको छ । साबिकका गाविस र कर्णाली रोजगार कार्यक्रमको बजेटबाट खरिद भएका कैयौँ पोलहरु लालीघाट र जितेबजारमा अलपत्र अवस्थामा रहेको नरहरिनाथ गाउँपालिका–९ का शिक्षक नवराज शाहीले बताए । “गाविस र कर्णाली रोजगारको पैसा दुरुपयोग गर्न मात्र बिजुलीका पोल खरिद गर्ने निर्णय गरिएको छ”, उनले भने, “विद्युत्को आयोजना नै नभएको ठाउँमा किन पोल र तार चाहियो ।” पोल र तारमा साबिकको लालु गाविसले आव २०६७/६८ मा कर्णाली रोजगार कार्यक्रमबाट रु ४५ लाख र गाविसको रु २७ लाख खर्च गरेको छ भने माल्कोट गाविसले पनि लाखौँ खर्च गरेको छ जनाइएको छ ।
अहिले राष्ट्रिय प्रसारण लाइनबाट बिजुली लैजाने तयारी भइरहेको नरहरिनाथ गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका सबै क्षेत्रमा बिजुलीका पोल गाडिएको र राष्ट्रिय प्रसारण लाइनबाट बिजुली लैजाने तयारी थालिएको बताइएको छ । विगतमा कालीकोटमा राष्ट्रिय प्रसारण लाइन नहुँदा समस्या भएको र अहिले राष्ट्रिय प्रसारण लाइन जोडिएका कारणले त्यहाँबाट बिजुली लैजाने तयारी भएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले जानकारी दिए ।
COMMENTS