प्रदेश सरकारले संघीयताको अनुभुति गर्न नसकेकोः बागमती प्रदेश कानून मन्त्री खनाल

काठमाडाै, १० चैत । बागमती प्रदेश सरकारका आन्तरीक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश सरकारले संघीयताको अनुभुति गर्न नसकेको बताएका छन् ।

बागमती प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालयले काठमाडौंमा आयोजना गरेको ‘एफ.एम., रेडियो र टेलिभिजन सञ्चालनमा कानूनी सहजीकरणका उपाय’ का विषयमा सञ्चार सरोकारवालासँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रदेश सरकारले बनाएका ऐन, कानूनहरुलाई कार्यान्वयन पनि गर्न नसकेको बताए । मन्त्री खनालले संघले प्रदेशलाई अधिकार दिन नखोजेर सामन्ती चरित्र देखाएको बताएका छन् । उनले राजनीतिक नेतृत्व र कर्मचारी सामन्ती चरित्रबाट मुक्त हुन नसकेको भन्दै यसको विरुद्धमा आवाज उठाउनुपर्ने खाँचो रहेको बताए । उनले भने – ‘अहिले हामी संघीयतामा छौँ । संघीयतामा छौँ तर मलाई अनुभुति भइराखेको छ, संघीयताको मर्म अनुसार यो चल्या छैन । त्यसैले हामीले जति ऐन, कानून प्रदेशमा बनाएका छौँ त्यसलाई कार्यान्वयन गर्न पनि सकिराखेको छैनौँ । अघि भर्खरै मैले हेरे हाम्रो सञ्चार रजिष्ट्रारले देखाउनुभयो एउटा राजपत्रमा प्रकाशित भएको अधिकार प्रदेश छ, त्यसको अर्को मेशिनरी के–के गर्नको लागि अधिकार दिनेचाहीँ संघ छ । हामी जुन राजनीतिक संस्कार बाट हुक्र्यौँ त्यो आफुसँग भएको अधिकार उसले दिन चाहिराखेको छैन । एउटा पक्ष मात्र होइन, अनेकौँ पक्षहरु छन् । त्यसकारणले त्यो सामन्ती चरित्र जो छ, नेतृत्व त्यो चरित्रबाट मुक्त छैन । कर्मचारी मुक्त छैन । राजनीतिक नेतृत्व मुक्त छैन । आम रुपमा यो दुइवटा चरित्रको बारेमा आवाज उठाउनुपर्ने खाँचो छ । मलाई यो कुरा भन्दाखेरी हिच्किचाहट लाग्दैन । राजनीतिमा पनि छ र कर्मचारी संयन्त्रमा पनि छ ।’

उनले प्रदेश सरकारले ल्याएको सञ्चार ऐनलाई सरोकारवालाको भावना विपरित हुनेगरी संशोधन नगरिने पनि स्पष्ट पारे । मन्त्री खनालले सञ्चार रजिष्ट्रारको कार्यालयलाई बलियो बनाइने पनि बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board