बुटवल, १० वैशाख । सत्तारुढ दलहरुबीच पाल्पाका स्थानीय तहमा तालमेलका लागि भागवण्डामा सहमति भएको छ ।
शनिबार गठबन्धनमा रहेका दलका नेताहरुको बैठकले जिल्लाका १० पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार भागवण्डा गरेको हो । जस अनुसार नेपाली कांग्रेसले ६ स्थानीय तहको प्रमुख र ६ वटैको उपप्रमुखको उम्मेदवार पाएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले दुई वटाको प्रमुख र तीन वटाको उपप्रमुखको उम्मेदवार पाएको छ । नेकपा एकीकृत समाजवादीले दुई पालिकाको प्रमुख र एक उपप्रमुखको उम्मेदवार पाएको एकीकृत समाजवादीका जिल्ला सचिव मोहन गैरेले जानकारी दिए । सहमति अनुसार नेपाली कांग्रेसले तानसेन नगरपालिका, रामपुर नगरपालिका, निस्दी गाउँपालिका, मथागढी गाउँपालिका, बगनासकाली गाउँपालिका, र रैनादेवी छहरा गाउँपालिकाको प्रमुखको उम्मेदवार पाउनेछ । नेकपा माओवादी केन्द्रले रिब्दीकोट गाउँपालिका र तिनाउँ गाउँपालिका तथा नेकपा एकीकृत समाजवादीले पूर्वखोला गाउँपालिका र रम्भा गाउँपालिकाको अध्यक्षको उम्मेदवार पाउनेछ । उपप्रमुखतर्फ नेपाली कांग्रेसको भागमा रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, माथागढी गाउँपालिका, रिब्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका र रम्भा गाउँपालिका परेको छ । नेकपा माओवादी केन्द्रले तानसेन नगरपालिका, निस्दी गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाको उपप्रमुख पाउनेछ । नेकपा एकीकृत समाजवादीले बगनासकली गाउँपालिकाको उपप्रमुखको उम्मेदवार पाएको छ ।
COMMENTS