भलुवाही कांग्रेस सम्पर्क कार्यालयमा अज्ञात समूहबाट आक्रमण, सात घाइते

सिन्धुली । दुधौली नगरपालिका–२ भलुवाहीमा रहेको नेपाली कांग्रेसको सम्पर्क कार्यालयमा बिहीबार राति अज्ञात समूहले आक्रमण गरेको छ ।

आक्रमणमा सात जना कांग्रेस कार्यकर्ता घाइते भएका छन् । कमल भुजेल, रञ्जित कुँमर, सन्तोष भुजेल, पेशल भुजेल, सरोज धामी, मण्डु थापा र दिनेश धामी सामान्य घाइते भएका छन् ।

अज्ञात समूहको आक्रमणबाट निर्वाचनको प्रचार प्रसारका लागि प्रयोग गरिएका करीब एक दर्जन सवारी साधनमा तोडफोड भएको सत्तारुढ गठबन्धनको तर्फबाट वडा अध्यक्षका उम्मेदवार जितबहादुर भुजेलले बताए ।

तोडफोडबाट ना ७ ख ७७७० नम्बरको टिफर, जिपमा क्षति पुगेको छ ।

अज्ञात समूहले बिहीबार राति १२ बजेतिर एक्कासी आक्रमण गरेको भन्दै घटनामा संलग्नलाई तत्काल कारवाही गर्न कांग्रेसले माग गरेको छ ।

अध्यक्ष भुजेलले नेकपा एमालेका कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएका छन् । उक्त वडामा एमालेको तर्फबाट वडा अध्यक्षको उम्मेदवार रितेस राउतले घट्नाको विषयमा आफूलाई जानकारी नभएको तर यस बारेमा बुझ्ने बताए ।

सिन्धुलीका डीएसपी मनोज कुमार लामाले घट्नाको विषयमा बुझ्न प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरीको टोली खटाइएको बताए । आक्रमणबारे शुक्रबार बिहान सत्तारुढ गठबन्धन दलबीच छलफल भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board