भैरहवा । रूपन्देहीको सिद्धार्थनगरमा अन्ततः कांग्रेस र माओवादीबीच तालमेल भएको छ । उम्मेदवारी फिर्ता लिने अन्तिम समयमा आएर कांग्रेस र माओवादीबीच तालमेल भएको हो ।
सत्तारुढ गठबन्धनको केन्द्र, प्रदेश र जिल्लाको भावनलाई आत्मसाथ गर्दै रुपन्देहीको सिद्धार्थ नगर नगरपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको निर्वाचनमा तालेमेल गरेको नेपाली कांग्रेस सिद्धार्थ नगरका सभापति कोसिसबहादुर खड्काले जानकारी दिए ।
आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचमा चुनावी तालमेल गर्दै गठबन्धनको मेयरमा कांग्रेसबाट ईस्तियाक अहमद खान र उपमेयरमा माओवादीबाट कमला थापाको उम्मेदवारी रहने छ । यसअघि माओवादी मेयरमा मनिषकुमार जोसी र कांग्रेसबाट पल्लवी न्यौपानेले उपमेयरमा उम्मेदवारी दिएका छन् ।
प्रतिगमनलाई पराजित गर्दै राष्ट्रियता, लोकतन्त्र, सविधानको रक्षाका लागि एकता आवश्यक रहेको भन्दै दुवै दल र उम्मेदवारहरुले एक आपसमा सहमति गरी सयुक्त गठबन्धनको मर्मअनुसार अगाडि बढ्ने निर्णय भएको नगर सभापति खड्काले बताए ।
सहमतिअनुरुप आफ्नो उम्मेदवारी फिर्ता लिँदै मेयरका उम्मेदवार जोसीले गठबन्धनका उम्मेदवारलाई जिताउनु सबैको दायित्व रहेको बताए । तुनावी तालमेलसँगै गठबन्धनको जित थप शुनिश्चित भएको उनले बताए । त्यस्तै, उपमेयरकी उम्मेदवार न्यौपानेले आफूले उम्मेदवारी फिर्ता गरे पनि आफूनै उम्मेदवार भएको सम्झेर गठबन्धनलाई जिताउन लागि पर्ने बताइन् ।
COMMENTS