दोर्दीमा सत्ता गठबन्धनको प्रतिवद्धता : २० युनिटसम्मको विद्युत र शिक्षा निःशुल्क

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनले कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ । गठबन्धनको दोर्दी गाउँपालिकाले स्थानीय तह निर्वाचन २०७९ को लागि सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा यस्तो उल्लेख गरेको हो ।

शिक्षा क्षेत्रमा गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमध्येबाट नमुना विद्यालय छनोट गरी प्रोत्साहन गरिने, शिक्षकलाई बालमैत्री तालिमको व्यवस्था गरी शिक्षण सिकाई प्रक्रियामा गुणस्तरिय कायम गरिने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

गाउँपालिकामा जलविद्युत आयोजनाबाट आएको रोयल्टीबाट २० युनिटसम्मको विद्युत महसुल निःशुल्क गराइने प्रतिवद्धता जनाइएको छ । विद्युतीकरण र वैकल्पिक ऊर्जा, जलस्रोत तथा सिंचाइ पूर्वाधार, सडक तथा यातायात, आवास व्यवस्था, कृषि क्षेत्रतर्फ कृषिमा आधुनिकिरण, व्यवसायीकरण र प्रविधिको उपयोग गरी विकास गरिने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

स्वास्थ्य क्षेत्रतर्फ ७० वर्ष माथिका जेष्ठ नागरिकलाई घरघरमै निःशुल्क स्वास्थ्य सेवा, आधारभुत स्वास्थ्य सेवामा नागरिकको मौलिक हक सुनिश्चित गरिने लगायतका अन्य प्रतिवद्धताहरु उल्लेख गरिएको छ । जलवायु परिवर्तनबाट हुने समस्या न्युनीकरण गरी वातावरणसम्बन्धी एक गाउँ एक पोखरी निर्माण गरिने र गाउँगाउँमा वाइफाइको व्यवस्था गरिने प्रतिवद्धतामा उल्लेख गरिएको छ ।

लमजुङको दोर्दी गाउँपालिका अध्यक्षमा गठबन्धनबाट माओवादीका लालबहादुर गुरुङ र उपाध्यक्षमा कांग्रेसका वृक्षबहादुर घले चुनावी मैदानमा होमिएका छन् । एमालेबाट अध्यक्षमा युवराज अधिकारी र उपाध्यक्षमा उषा गुरुङ चुनावी प्रतिस्पर्धामा छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board