हेटौंडामा एमाले र गठबन्धनको भिडन्तमा राप्रपाको टक्कर

हेटौंडा । स्थानीय तहको निर्वाचन नजिकिएसँगै हेटौंडामा चुनावी सरगमी बढ्दो छ । बागमती प्रदेशको एकमात्र उपमहानगरपालिका र प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिकाको मेयर को बन्ने भन्ने चर्चा चलिरहेको छ ।

नेकपा एमाले पहिला झैँ आफ्नो विजयी झन्डा फहराउने दाउमा रहेको छ भने पाँच दलीय सत्ता गठबन्धन पनि आफ्नो जित निकाल्न प्रयासरत रहेको छ । एमालेबाट मेयरको लागि अनन्त पौडेलले उम्मेदवारी दिएका छन् भने गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीबाट मिनाकुमारी लामाले उम्मेदवारी दिएकी छिन् ।

यसअघि २०७४ को निर्वाचनमा पनि नेपाली कांग्रेस र नेकपा माओवादीबीच गठबन्धन भएको थियो । तर, त्यसबेला पनि हेटौंडामा एमालेले जित निकालेको थियो । त्यतिबेला एमालेबाट उपमेयरमा विजयी भएकी मिनाकुमारी लामा नै अहिले गठबन्धनबाट मेयरको उम्मेदवार छिन् । विस २०४९ र २०५४ मा भएको स्थानीय तहको निर्वाचनमा पनि एमालेकै डोरमणि पौडेल मेयर र हरिबहादुर महत उपमेयर भएका थिए । अघिल्लो पटक भएको गठबन्धनलाई पनि पराजित गरेकाले यसपटक पनि पराजित गर्नेमा ढुक्क रहेको एमालेको उम्मेदवार पौडेल बताउँछन् । यसपटक एमालेलाई राप्रपा नेपालले पनि साथ दिएकाले थप सहज भएको उनी बताउँछन् ।

यता गठबन्धनलाई भने मत बदर हुने डर रहेको छ । ‘हामीले मतदाताहरुलाई अपिल गर्ने क्रममा मतदानको तरिका पनि सिकाएका छौं,’ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट उपमेयर पदको उम्मेदवार बनेका राजेश बानियाँले भने । विसं २०७४ को निर्वाचनमा एमाले उम्मेदवार ६१५ मतले विजयी हुँदा ७ हजारभन्दा बढी मत बदर भएको थियो । एमाले विभाजन र कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी)को गठबन्धन हुँदा गठबन्धन बलियो देखिन्छ । यद्यपि असन्तुष्ट मत र मतपत्रमा हुन सक्ने अस्पष्टताले गठबन्धनलाई धक्का पुग्ने देखिन्छ ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मेयरमा उम्मेदवारी दिएका दिपकबहादुर सिंहको आगमनले दुई तर्फी भिडन्तमा नयाँ मोड थपिएको छ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले हेटौंडामा बलियो दाबेदारी पेस गरेको छ ।

मकवानपुरमा प्रभावशाली नेता मानिने कमल थापा राप्रपा अध्यक्षमा पराजित भएपछि अलग पार्टी स्थापना गरेका उनको दल राप्रपा नेपालले मकवानपुरको कुनै पनि स्थानीय तहमा उम्मेदवारी दिएन ।

राप्रपाबाट उम्मेदावारी दिएका दिपक सिंह आफ्नो उम्मेदवारी विशुद्ध जनताको सेवाका लागि भएको बताउँछन् । ‘जनताको चाहना भएकै कारण मैले उम्मेदवारी दिएको हो । मैले जितेँ भने जनताकै सेवा गर्ने हो । भ्रष्टाचारमुक्त हेटौंडा बनाउने हो’ उनले भने, ‘धेरै ठुला योजनाहरु मसँग छैनन्, ‘सामान्य कामहरु गरे मात्रै पनि हेटौंडाका जनताले महसुस गर्नेछन् । अहिले ठुलो कुरा गरेर हुन्न । जनताले विकास चाहेका छन् । म त्यो पूरा गर्न सक्छु ।’

एमाले र गठबन्धनको चर्चा चलिरहेकै बेला दुवै तर्फको असन्तुष्ट मत उनले तान्ने चर्चा पनि चल्न थालेको छ ।

त्यसमध्ये पनि गठबन्धन हुँदा उम्मेदवार बन्न नपाएको वा विभिन्न कारणबश रहेको असन्तुष्टिको फाइदा उनले उठाउने अड्कलबाजी गरिन थालेको छ । हेटौंडा उपमहानगरपालिकाको मेयर दावी गरेको कांग्रेसभित्र असन्तुष्ट समूहको ठुलो जमात छ । कांग्रेसको आन्तरिक विवादकै कारण पनि गठबन्धनको मत प्रभावित हुन सक्ने आंकलन गरिएको छ । यही असन्तुष्ट मत तान्ने दाउमा सिंह रहेका छन् ।

एमालेका अनन्त पौडेललाई टिकट दिनहुँदैनथ्यो भन्ने पक्षको मत पनि राप्रपाको नजरमा छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको जम्मा मतदाता ८३ हजार ५९७ रहेका थिए भने अहिले मतदाता संख्या बढेर १ लाख ४ हजार ४७३ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board