सिन्धुली । सिन्धुलीको गोलञ्जोर गाउँपालिकाको वडा नं. २ मा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएको छ ।
गाउँपालिकामा कांग्रेससँग चुनावी तालमेल गर्ने सहमति गरेको माओवादीले वडा स्तरमा भने एमालेसँग चुनावी तालमेल गर्ने सहमति गरेको हो ।
पालिका स्तरमा कांग्रेसबाट अध्यक्ष र माओवादी केन्द्रबाट उपाध्यक्ष लिएर संयुक्त चुनावी अभियान सञ्चालनमा छ । तर, २ नम्बर वडास्तरमा भने माओवादी केन्द्र र एमालेबीच चुनावी तालमेल गर्ने सहमति गरेको हो ।
आज बिहान भएको सहमति अनुसार पालिका स्तरमा आआफ्नो उम्मेदवारलाई सघाउने र वडा स्तरमा भने एमाले र माओवादीका उम्मेदवारलाई सघाउने सहमति छ ।
सहमतिपत्रमा एमालेका तर्फबाट चित्रबहादुर हमाल र माओवादी केन्द्रका तर्फबाट हरिकृष्ण कार्कीले सहमति जनाएका छन् ।
२०५४ को स्थानीय तहको निर्वाचनमा अध्यक्षको उम्मेदवार भएका ज्वालाप्रसाद न्यौपाने कांग्रेससँग तालमेल गरेर उपाध्यक्षको उम्मेदवार बनेकोमा पालिकाभर माओवादी केन्द्रका कार्यकर्तामा असन्तुष्टि बढेको छ ।
माओवादी केन्द्रबाट उम्मेदवार बनाइएपनि कतिपय वडामा चुनावी प्रचार प्रसार समेत गरेका छैनन् ।
COMMENTS