प्रचण्डको आशंका, ‘गठबन्धन क्लियर छैन, कांग्रेसबाट धोका हुनसक्छ’

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन क्लियर नभएकाले कांग्रेसबाट धोका हुनसक्ने बताएका छन् ।

कैलालीको कैलारी गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धन दलभित्रको सहमतिविपरीत कांग्रेसले उम्मेदवारी दिन लगाएर धोका दिन खोजेको भन्दै आशंका व्यक्त गरेका हुन् ।

धेरै स्थानमा गठबन्धन ‘क्लियर’ नभएको भन्दै प्रचण्डले भने, ‘कांग्रेसले यहाँ पनि गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दिएको छ । त्यसलाई खारेज नगर्ने हो भने हामी एक्लै चुनाव लड्नुपर्छ । यो अवस्थामा हाम्रोतर्फबाट उपाध्यक्ष पदमा परेको उम्मेदवारलाई जिताउनुपर्छ ।’

प्रचण्डले बागी उम्मेदवारका लागि मत मागेका छन् ।
सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न कैलाली आएका प्रचण्डले कैलारी गाउँपालिकामा माओवादी केन्द्रले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै गठबन्धनकै बागी उम्मेदवारलाई मत मागेका हुन् ।
उनले अध्यक्षका उम्मेदवार लाजुराम चौधरी र उपाध्यक्षका उम्मेदवार लक्ष्मी सत्गौवा चौधरीलाई मत मागेका हुन् ।

उनले भने, ‘यो परिवर्तनको रक्षाको लागि हाम्रो पार्टीका अध्यक्षका उम्मेदवार लाजुराम चौधरी र उपाध्यक्षका उम्मेदवार लक्ष्मी सत्गौवा चौधरी लगायतको टोलीलाई अत्यधिक बहुमत विजयी गराउनुस् भन्न चाहन्छु । उहाँहरूको टीमले विगतमा पनि राम्रो काम गरेको थियो, आउने दिनमा पनि राम्रो काम गर्ने विश्वास व्यक्त गर्दछु ।’

कैलालीमा गठबन्धनका दलहरूबीच भएको सहमतिअनुसार कैलारी गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष कांग्रेसको भागमा परेको थियो । माओवादीले अध्यक्षमा अघिल्लो निर्वाचनमा पनि विजयी भएका लाजुराम चौधरी र उपाध्यक्षमा कांग्रेसले भगवती चौधरीलाई साझा उम्मेदवारका रुपमा अघि सारेको छ ।

तर उपाध्यक्षमा माओवादी केन्द्रकी लक्ष्मी चौधरीले बागी उम्मेदवारी दिएकी छन् । उनी गाउँपालिकाको निवर्तमान उपाध्यक्ष हुन् ।

प्रचण्डले गठबन्धन गर्नु भनेको झुक्नु नभएको टिप्पणी गर्दै भने, ‘गठबन्धन गर्नुको अर्थ सबै ठाउँमा झुक्नु होइन । गठबन्धन क्लियर भएको छैन, उम्मेदवार जुनसुकै रूपले अगाडि आए पनि हाम्रो पार्टीका उम्मेदवारलाई अत्यधिक बहुमतले जिताउन अपिल गर्दछु ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board