नारायणकाजीलाई गृह पालिकामै जिताउन हम्मेहम्मे

  • अश्विन दानी

गोरखा । पूर्वउपप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलाई यतिबेला चुनावी सभालाई सम्बोधन गर्दैमा भ्याइनभ्याई छ ।

बिहान ८ बजेदेखि बेलुका ११ बजेसम्म उनी निर्वाचन क्षेत्रमा चुनावी सभालाई सम्बोधन गर्ने, मतदाता भेट्ने अनि भोट माग्ने काममै व्यस्त छन् । श्रेष्ठ आफ्नो निर्वाचन क्षेत्रका पालिकामा माओवादीका उम्मेदवारलाई जिताउन भन्दै घुँडा धसेरै लागिपरेको देखिन्छ ।

तर, उनलाई आफ्नै गृहपालिका सिरानचोकमा उम्मेदवार जिताउन हम्मेहम्मे पर्ने देखिन्छ । यस गाउँपालिकामा ८ ओटा वडा छन् । स्थानीय निर्वाचन २०७४ बाट यस गाउँपालिकामा उनको गृह वडामा मात्रै माओवादीले जित हासिल गरेको थियो ।

सिरानचोक गाउँपालिका वडा नम्बर ८ मा झटकप्रसाद दवाडीले माओवादीको तर्फबाट जितेका थिए । दवाडी कांग्रेसमा लोकप्रिय पाको नेताको रूपमा चिनिन्थे । तर, चुनावमा उनलाई कांग्रेसले टिकट नदिएपछि माओवादीबाट उम्मेदवार बनेका थिए ।

यद्यपि गाउँपालिका अध्यक्षमा भने माओवादीका उम्मेदवार १६७ मतले मात्रै पराजित भएका थिए । अघिल्लो निर्वाचनबाट गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजु गुरुङ ३ हजार ४०२ मतका साथ निर्वाचित भएका थिए भने निकटमा प्रतिद्वन्द्वी माओवादीका नवराज पुडासैनी ३ हजार २३५ मत प्राप्त गरेर पराजित भए । यस्तै, एमालेका प्रेमबहादुर गुरुङले १ हजार ७४० र तत्कालीन नयाँ शक्ति पार्टी (अहिलेको जसपा) का महेशकुमार गुरुङले १ हजार ४३१ मत पाएका थिए ।

स्थानीय निर्वाचन २०७४ को मतपरिणाम नियाल्दा यहाँ कांग्रेस पहिलो, माओवादी दोस्रो, जसपा र एमाले तेस्रो शक्तिको रूपमा देखिन्छन् ।

८ वडा रहेको यस पालिकामा ६ ओटा कांग्रेस, एक माओवादी र एक जसपाले नेतृत्व गरेका छन् भने पालिका अध्यक्ष उपाध्यक्ष दुवै कांग्रेसका हुन् । कार्यपालिकामा पनि कांग्रेसको स्पष्ट बहुमत थियो ।

गृहपालिका भए पनि जनसंगठन बलियो नहुँदा श्रेष्ठलाई आफ्नो गृह पालिकामा पार्टीको उम्मेदवार जिताउन हम्मेहम्मे पर्ने देखिन्छ । तर, पनि आफ्नो निर्वाचन क्षेत्रका अधिकांश पालिका जित्ने सम्भावना भएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ बताउँछन् ।

‘हामीले निर्वाचन क्षेत्रका अधिकांस पालिका जित्छ भन्ने छ । त्यसैले हामी निर्वाचन क्षेत्रका पालिका केन्द्रित भएर चुनाव प्रचारप्रसार, मतदाता भेटघाट, जनसभा लगायतका कार्यक्रमलाई तीव्रता दिइरहेका छौँ,’ स्वकीय सचिव श्रेष्ठले भने ।

आसन्न निर्वाचनमा यस पालिकामा कांग्रेसको तर्फबाट ज्ञानेन्द्र गुरुङ, माओवादीको तर्फबाट नवराज पुडासैनी, एमालेबाट देवराज श्रेष्ठ, जसपाबाट चित्र बहादुर गुरुङको प्रतिस्पर्धा हुने देखिन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board