मदन भण्डारीको राजनीतिक उदय त्यतिखेर भयो जतिखेर १. नेपाल निरंकुश राजतन्त्रबाट बहुदलीय प्रजातान्त्रिक/संवैधानिक राजतन्त्रात्मक व्यवस्थामा संक्रमण हुँदै थियो, र २. सोभियत संघ र पूर्वी युरोपमा ‘समाजवाद’को पतन भई रहेको र यसर्थ, दुई ध्रुवीय विश्व संरचनामा एउटा ध्रुव पछि धकेलिएको अवस्था थियो | कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्था धकेलिएको थियो | मुलुक भित्रको त्रि-शक्ति सन्तुलनको (- राजतन्त्र, काङ्ग्रेस र वामपन्थी) एउटा पक्षको हैशियतमा नेपाली कम्युनिष्ट आन्दोलनले लिने दिशा तरवारको धारमा हिड्नु जत्तिकै जोखिमपूर्ण थियो | मुलुकमा भरखरै स्थापित पुँजीवादी प्रजातन्त्रको उपर्युक्त स्वरुपलाई कसरी ग्रहण गर्ने र कस्तो कार्य दिशा लिने भनेर निर्णय लिनु रणनीतिक महत्वको काम थियो |
यो संगिन घडी थियो र यहाँ दुइटा उत्ताउला काम हुन सक्थे, मार्क्सवादी साहित्यमा भनिने गरिएका दक्षिणपन्थी अवसरवादी विचलन र उग्र वामपन्थी भडकाव | (यी दुइटैले ल्याउने त विसर्जन नै हो |) दक्षिणपन्थी अवसरवादले सामाजिक क्रान्तिको सामाजिक मिशन बिर्सने र सत्ताको शान र सुविधामा हेलिन जोड दिन्थ्यो भने उग्र वामपन्थी भडकावले ‘निरन्तर क्रान्ति’को नाममा क्रान्तिकारी शब्दाडम्बरको फेरी लगाउने र त्यहीं अनुरुपको चर्तिकला देखाउथ्यो | मिशनमा प्रतिवद्ध शक्तिको जिम्मेवार विकल्प चाहीं यी दुईटै अतिबाट बच्नु हुन्थ्यो | मदन भण्डारीले भने बिना लक्कनछप्पन व्यवहारिक सोंचको अगुवायी गरे |
पुँजीवादी प्रजातन्त्रका ‘रुप पक्ष’लाई ‘क्रान्तिकारी सार’मा कलमी गरे | बहुदलीय प्रणाली, आवधिक निर्वाचन, बहुमतको शासन र अल्पमतको विपक्ष, कानुनी शासन, मानव अधिकार, शक्तिको प्रथकिकरण जस्ता विषयलाई ‘क्रान्तिकारी जनसत्ता, मिश्रित अर्थतन्त्र (निजी क्षेत्रको भुमिकालाई रणनीतिक अर्थमै लामो समयसम्म स्विकारेर स्थान दिनु, राज्य क्षेत्रलाई स्वच्छ र प्रभावकारी बनाउनु तथा सहकारी क्षेत्रलाई जनस्तरबाट बिस्तार गर्दै लानु) र आधुनिक संस्कृति’ निर्माणमा सजाए | त्यसलाई उनले ‘जनताको बहुदलीय जनवाद’मा लिपिवद्ध गरे | तर त्यस पछि उनले त्यति मौकै पाएनन् | पार्टीका अर्का नेता जीवराज आश्रित सहित उनको रहस्यपूर्ण हत्या गरियो | त्यस पछिका ३ दशक गुज्रेका छन् |
मदनको अवसान पछि मदनले कोरेको लक्षमण रेखामा कम्युनिष्ट आन्दोलन टिक्न सकेन | यो दक्षिणपन्थी अवसरवादी विचलन र उग्र वामपन्थी भडकावको तानातानमा पर्यो | दक्षिणपन्थी अवसरवादी विचलनले उग्र वामपन्थी भडकावको निम्ति वारुद तैयार गरिदियो भने उग्र वामपन्थी भडकावले दक्षिणपन्थी अवसरवादी विचलनलाई खोर बाख्री खोर गर्यो | हो, पुँजीवादी प्रजातन्त्रलाई ‘धोखाधडीको उपकरण’को रुपमा प्रयोग गरिदै आएको इतिहास छ | त्यसैमा हेलिनु र चुनाव देखि चुनावसम्म सिमित हुनु हुदैनथ्यो | यो पनि क्रमश: हुँदै गयो | तर के त्यतिकै भरमा यसलाई अस्विकार गर्नु युक्तिसङत हुन्थ्यो ?! हुनु हुँदैनथ्यो | त्यसलाई पनि ‘मुक्तिको उपकरण’को रुपमा ग्रहण गर्न मार्क्सवादले बर्जित गर्दैनथ्यो | ( Introduction to Marx’s Class Struggles in France by Frederic Engels र Preamble of the Programme of the French Workers’ Party written by K. Marx हेरे हुन्छ |) तर यहीं आन्दोलन भित्रको अर्को धारा सुरुमा अनकनाउँदै स्विकारेको भए पनि अलिक पछि यसलाई अस्विकार गर्दै जनयुद्धमा होमियो | लोकतान्त्रिक गणतन्त्रको स्थापना पछाडी पनि एउटा पक्ष त आज पनि वहिस्कारको पैरवी गर्दै छ |
मदन भण्डारीलाई उनका आलोचकले भन्दा पनि उनका खाँटी अनुपायी हुँ भन्नेहरुले आफ्नो विचलनलाई छोपछाप पार्न विकृत रुपमा प्रस्तुत गरे | देख्नलाई तिनको ‘देवपुजन’ त देखिन्छ तर ‘उनको आत्मा’ कहिले पोलेर खाए, खाए ! यो त्यति बेलै देखि सुरु भयो जव तिनले उनको ‘बहुदलीय जनवाद’को ‘रुप पक्ष’लाई सिद्धान्तको सार र शास्वत पक्ष भनेर भाष्य बाढ्न थाले | अर्को दुखद पक्ष यस बीचमा उग्र वामपन्थी भडकावले पनि सम्यक पाठ सिक्न सकेन | सुखद कुरा, यस आन्दोलनका दुई ठुला धार एमाले र मावोवादी एकीकृत भ’का पनि हुन्, त्यसले यस वामपन्थी आन्दोलनालाई मुलुकको राजनीतिक शक्ति सन्तुलनमा सर्वाधिक शक्तिशाली शक्तिको रुपमा स्थापित पनि गर्यो | तर त्यस एकताले अल्पायुमै मृत्यु वरण गर्नु पर्यो | नेतृत्वमा रहेको स्वेच्छाचारिता, महत्वाकांक्षा र कुन्ठाले, उसमाथि अरुको उलामालाले हुनुहार गर्यो – आन्दोलन आफैले भने खुम्चिनु पर्यो, शक्ति सन्तुलन आफ्नो विपक्षमा फेरियो | आन्दोलनले धक्का खायो, भित्री बाहिरी शक्तिलाई खुँदो पल्टियो, राजनीतिक अस्थिरता बढायो र मुलुकलाई अनिश्चयको गर्तमा धकेली दियो | यो सब यस आन्दोलन भित्र आफ्नो सामाजिक मिशन र ध्येयसंग मेल न खाने संगठनात्मक प्राणालीको संरचना, संस्था र विधिप्रणालीले निम्त्याएको करामत हो | यस प्रणालीले निस्कन्टक अधिनायक बन्ने र विभाजनकारी प्रतिवादको अन्तरविरोध पुरुत्पादन गरि रहन्छ |
यो प्रणाली नै दक्षिणपन्थी अवसरवाद र उग्र वामपन्थी भड्कावको मुहान हो | फेरि पनि यस आन्दोलनको सामाजिक आधार बलियो छ | अहिले यो आफै भित्र भने उद्विग्न र उद्वेलित छ – कहाँ गल्ती भयो, कसरी सच्चिने र कसरी पुनर्जीवन प्राप्त गर्ने ?! त्यसको निम्ति सम्यक ‘प्रज्ञा’ र सम्यक ‘साधना’ चाहिन्छ | व्यक्तिवादी अधिनायकवादी संरचनाका ठाउँमा सामुहिक नेतृत्व र सामुहिक सुझबुझमा चल्ने र संस्थागत विधिको ‘धर्म’ अनुसरण गर्ने लोकतान्त्रिक संरचनाको पुनर्स्थापना पहिलो शर्त हो | विगत ७२ वर्ष भित्र यस आन्दोलन्ले हाशिल गरेका राम्रा उपलब्धी र यस बीचमा देखापरेका कमजोरी र विसंगतिको सघन आत्मसमिक्षा तलै देखि हुनु जरुरी छ | विभाजित तथा छितरिएको यस आन्दोलनको पुनरएकिकरण, व्यक्ति विशेषका निर्घिणी स्वार्थ्यहरुको समायोजनबाट होइन आदोलनको ध्येय र मिशनको हितसंग गासिएको एकता यस आन्दोलनको पुनरजीवनको निम्ति उत्तिकै जरुरी छ | भित्री बाहिरी चुनौती संग जुझ्न र लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय हितको संरक्षण र सामाजिक न्यायको प्रवर्द्धनको निम्ति पनि यसको पुनरएकिकरण अरु कुनै बेलाको भन्दा जरुरी छ |
अहिले यस आन्दोलनलाई नेतृत्वका बफादार चेला भन्दा सत असत छुट्याउने आलोचनात्मक चेत भ’का सामाजिक मिशनका निष्ठावान नेता कार्यकर्ताको हस्तक्षेप जरुरी छ | चुनौती जो छ लरतरो छैन |मदन भण्डारीको स्मृति यसर्थ पनि विशेष अर्थ राख्दछ |
श्रद्धा सुमन कमरेड मदन भण्डारी !
COMMENTS