आफ्नो तस्बिर दुरुपयोग गर्दै चरित्रहत्या गरिएको भन्दै फोटो पत्रकार पौडेल साइबर ब्युरोमा

काठमाडौँ । सामाजिक सञ्जालमा आफ्नो तस्बिर दुरुपयोग गर्दै चरित्रहत्या गरिएको विषयमा सञ्चारकर्मी तथा फोटो पत्रकार श्रीधर पौडेलले प्रहरीको साइबर ब्युरोमा निवेदन दिएका छन् ।

मोडलिङ एजेन्सीका सञ्चालक मनोज पाण्डेमाथि यौन शोषणको आरोप लगाउँदै सार्वजनिक भएको भिडियोको आधारमा टिकटक, इन्स्टाग्राम, फेसबुक र ट्विटरका केही प्रयोकर्ताहरुले आफ्नो चरित्र हत्या गरेको भन्दै पौडेलले ब्युरोमा उजुरी दिएका हुन् ।

एक युवतीले आफूमाथि भएको यौन शोषणको विवरण बाहिर ल्याएपछि त्यसमा आफूलाई अनावश्यक रूपमा मुछेर चरित्रहत्या गरिएको पौडेलको गुनासो छ ।

पौडेलले आफ्नो तस्बिर प्रयोग गरी गालीगलौज र झूटो लाञ्छना लगाउने फेसबुक, इन्स्टाग्राम तथा टिकटकका अकाउन्टहरूको विवरणसहित ब्युरोमा ठाडो उजुरी दिएका हुन् ।

उनले व्यावसायिक कामको सिलसिलामा आफू काम गर्ने कार्यालयको स्टुडियोमा फोटो सुट गरेको र सार्वजनिक स्थानमा भएको कार्यक्रमको फोटो सुट मात्र गरेको उल्लेख गर्दै यसैको आधारमा गम्भीर आरोप लागेका पाण्डेसँगै आफ्नो नाम र तस्बिर प्रयोग गरेर गम्भीर अपराध गरेको अपराधी झैँ गरी सामाजिक सञ्जालमा राखेको उल्लेख गर्दै कारबाहीको माग गरेका छन् ।

उक्त घटनामा आफू कतै संलग्न नरहेको र पीडितले पनि आफ्नो नाम नलिएको अवस्थामा आफू र परिवारलाई समेत मानसिक तनाव हुने गरी दुष्प्रचार भएपछि प्रहरीमा पुगेको पौडेलले बताए ।

सार्वजनिक भएको भिडियोमा युवतीले आफूले स्टुडियोमा फोटो खिचेको र पाण्डेको कार्यालयमा झगडा हुँदा आफू पुगेको बाहेक अन्य उल्लेख नभए पनि टिकटक, फेसबुक र ट्विटरका केही प्रयोगकर्ताले आधारहीनरुपमा लाञ्छना लगाइ गम्भीर साइबर अपराध गरेको भन्दै उजुरीमा केही प्रयोगकर्ताको विवरणसमेत उल्लेख गर्दै कारबाहीको माग गरेका छन् ।

ब्युरोका एक अधिकारीले उजुरी परेको र त्यसबारे अनुसन्धान सुरु भएको जानकारी दिएका छन् ।

मिस ग्लोबल इन्टरनेसनल- २०१४ नामक सौन्दर्य प्रतियोगितामा भाग लिएपछि आयोजक पक्षकै एक व्यक्तिले आफूलाई नशालु पदार्थ पिलाएर बलात्कार गरेको आरोप एक युवतीले लगाएपछि सामाजिक सञ्जाल तातिरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board