धरानमा स्वतन्त्र उम्मेदवार साम्पाङको अग्रता कायमै

  • प्रकाश तिम्सिना

सुनसरी । सुनसरीका १२ पालिकामध्ये ६ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमा ३ नगरपालिका र तीन गाउँपालिका छन् । देवानगञ्ज गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का वेचनप्रसाद मेहता र उपाध्यक्षमा कांग्रेसकी कुमारीविभा यादव विजयी भएकी छन् ।

गढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेले विजयी हासिल गरेको छ । अध्यक्षमा एमालेका आशनायरण चौधरी र उपाध्यक्षमा अनिताकुमारी चौधरी निर्वाचित भइन् ।

भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जितको छ । अध्यक्षमा अजमल अख्तर आजाद र उपाध्यक्षमा सुनिताकुमारी उराँव निर्वाचित भएका छन् ।

जिल्ला सदरमुकाम इनरुवा नगरपालिकामा पनि कांग्रेस विजयी भएको छ । मेयरमा केदार भण्डारी र उपमेयरमा विनिताकुमारी मेहता विजयी भए ।

रामधुनी नगरपालिकाको मेयर र उपमेयर दुवै एमालेले जितेका छ । मेयरमा शंकरलाल चौधरी र उपमेयरमा तारा थापा विजयी भएका छन् ।

कांग्रेस पूर्वउपसभापति विजयकुमार गच्छदारको गृह नगर दुहवीमा पनि कांग्रेसले जितेको छ । बहालवाल मेयर वेदनारायण गच्छदार मेयरमा विजयी भएका हुन् । उपमेयरमा फराकिलो मतान्तरसहित कांग्रेसकै मेनुका पोख्रेल विजयी भएकी छन् ।

बाँकी ६ पालिकामा मतगणना जारी छ । कोसी गाउँपालिका, बराहक्षेत्र नगरपालिका, इटहरी उपमहानगरपालिकामा नेपाली कांग्रेस अगाडि छ । बर्जू गाउँपालिकामा भने एमाले अगाडि छ । धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका छन् ।

उनलाई गठबन्धनको तर्फबाट कांग्रेसका मेयर पदका उम्मेदवार किशोर राईले पछाइरहेका छन् । २०७४ साल सम्म धरानलाई लाल किल्ला बनाएको एमाले भने तेस्रो स्थानमा रहेको छ । मत परिणाम आउन बाँकी रहेका पालिकाको केही दिन भित्रमै नतिजा निकाल्ने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board