बेँसीसहरमा ४४ जनाको धरौटी जफत

लमजुङ । स्थानीय तह निर्वाचनमा लमजुङको बेँसीसहर नगरपालिकामा उम्मेदवार बनेका ४४ जनाको धरौटी जफत हुने भएको छ ।

कूल खसेको मतको १० प्रतिशत मत नल्याएका विभिन्‍न राजनितिक दल एवं स्वतन्त्र उम्मेदवारको धरौटी जफत हुने भएको हो । निर्वाचन आयोगका अनुसार कानुनी व्यवस्था बमोजिम बेँसीसहर नगरपालिकामा नगरप्रमुखका तीनजना र उपप्रमुख पदका दुईजना, वडा अध्यक्ष र अन्य सदस्य पदमा उम्मेदार बनेका ४४ जनाको धरौटी रकम जफत भएको हो ।

बेँसीसहरमा धरौटी फिर्ता नहुने उम्मेदारहरुमा प्रमुख उपप्रमुख पदसहित १९ जना विभिन्न वडामा अध्यक्षका उम्मेदार र २० जना अन्य सदस्य पदका उम्मेदार रहेका छन् । कुल २६ हजार दुईसय ६ मतदाता रहेको बेँसीसहर नगरपालिका अन्तर्गतका ११ वडामा १८ हजार १८५ मत खसेको थियो ।

नगरपालिकामा खसेको मतमध्ये उम्मेदवारले १० प्रतिशत मत ल्याउन नसकेपछि उनीहरूको धरौटी जफत भएको छ । वडा अध्यक्ष तथा अन्य सदस्यहरुले भने सम्वन्धीत वडामा खसेको मत मध्ये १० प्रतिशत मत ल्याउन नसकेका हुन् । बेँसीसहरमा विभिन्न पदमा उम्मेदारी दिएका मध्ये धरौटी जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मात्रै १६ जना रहेका छन् । सो बाहेक मंगोल नेसनल अर्गनाइजेसन र जनता समाजबादी पार्टीका आठ–आठ जना उम्मेदार रहेका छन् । त्यसैगरी नेकपा (माओवादी केन्द्र)का सातजना, चारजना स्वतन्त्र उम्मेदार र एकजना नेकपा (एकीकृत समाजवादी) पार्टीका उम्मेदार रहेका छन् ।

राप्रपाबाट नगरप्रमुख, उपप्रमुख, ६ जना वडा अध्यक्ष र आठजना अन्य सदस्य पदका उम्मेदारहरुको धरौटी रकम जफत भएको हो । मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाट बेँसीसहरमा नगरप्रमुख र उपप्रमुख उम्मेदार बनेका दुई जनासहित विभिन्न वडामा अध्यक्ष उम्मेदार बनेका तीनजना र अन्य तीनजना सदस्य पदका उम्मेदारको धरौटी जफत भएको हो ।

त्यसैगरी जनता समाजवादी पार्टीबाट नगरप्रमुख उम्मेदार बनेका एकजना, पाँचजना वडा अध्यक्षका उम्मेदार र थप दुईजना सदस्य पदका उम्मेदारको धरौटी जफत भएको हो । माओवादी केन्द्रबाट नगरपालिका अन्तर्गत विभिन्न वडामा सदस्य पदमा उम्मेदार बनेका सात जनाको सम्वन्धीत वडामा खसेको कुल मतको १० प्रतिशत मत नपुगेपछि उम्मेदारको धरौटी जफत भएको हो । त्यस्तै स्वतन्त्रतर्फ धरौटी जफत हुने सबै वडा अध्यक्षका उम्मेदारहरु हुन भने नेकपा एसको पनि एकजना वडा अध्यक्षका उम्मेदारको धरौटी जफत भएको निर्वाचन परिणामले देखाएको हो ।

निर्वाचन आयोगले स्थानिय तह अध्यक्ष, उपाध्यक्ष, प्रमुख तथा उपप्रमुखका लागि एकहजार पाँचसय रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था गरेको थियो । त्यसैगरी वडाध्यक्षका लागि एकहजार रुपैयाँ र वडासदस्यका लागि ५०० रुपैयाँ धरौटी राख्नुपर्ने प्रावधान थियो । यद्यपि महिला र दलित अथवा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा ५० प्रतिशत छुट हुने व्यवस्था रहेको छ ।

कुल सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने ऐनमा व्यवस्था छ । तर, निर्वाचित उम्मेदवारको हकमा यो लागु नहुने ऐनमा उल्लेख छ । सदर मतको १० प्रतिशतभन्दा कम सदर मत ल्याएरै कुनै उम्मेदवार विजयी भएका छन् भने त्यस्ताको हकमा धरौटी रकम जफत नहुने निर्वाचन आयोगले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board