- विशाल बस्नेत
महोत्तरी । हर प्रहर गाउँ र नगरी, टोल–टोलमा नेपाल प्रहरी भन्ने मुख्य नाराका साथ इलाका प्रहरी कार्यालय बर्दिबासले सचेतना अभियान सुरुवात गरेको छ ।
प्रहरी नायव उपरीक्षक रवि रावलको संयोजकत्वमा सुरु भएको उक्त अभियान देउराली माध्यमिक विद्यालय बर्दिबासबाट औपचारिक शुभारम्भ गरिएको हो ।
अभियानको पहिलो दिन विद्यालयमा अध्ययनरत किशोरकिशोरीलाई लागु औषधको विषयमा सजग गराइएको थियो ।
शान्तिपूर्ण एव सुरक्षित समाज निर्माणका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कार्यक्रमहरूलाई प्रभावकारी बनाउन स्थानीय तह र समुदायसँग छलफल भइरहेको प्रहरी नायब उपरीक्षक तथा इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख रवि रावलले जानकारी दिए ।
प्रहरीले सुरुवात गरेको यो अभियानलाई स्थानीय समाजसेवी तथा राजनीति दलहरूले स्वागत गरेका छन् । पूर्ववडा अध्यक्ष तथा नेकपा (एमाले)का नेता फाल्गुन सुस्लिङ्ग मगरले शान्तिपूर्ण एवं सुरक्षित समाज निर्माणका लागि यस्ता प्रहरीको यो भूमिका सराहनीय भएको बताए ।
मगरले भने, “लागूऔषध न्यूनीकरण बर्दिबासमा ठुलो चुनौती बनिरहेको छ । यसलाई न्यूनीकरण गर्न प्रहरीका सचेतनामूलक कार्यक्रमहरू प्रत्येक विद्यालय र क्याम्पसमा लैजानुपर्छ ।”
यसपछि किसाननगरमा चट्याङबाट बच्न अपनाउनु पर्ने कार्यक्रम र अन्य सुरक्षाका विषयमा सचेतना जगाउने कार्यक्रम रहेको नायब उपरीक्षक रावलले जानकारी दिए ।
COMMENTS