गण्डकी । कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र उपप्रमुखमा नेकपा (एमाले)की मञ्जुदेवी गुरुङ विजयी भएका छन् ।
स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३१ गतेदेखि सुरु भएको मतगणनाको आज बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार प्रमुखमा आचार्यले एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतले पराजित गरे । आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दा उनका निकटतम् प्रत्यासी थापाले ५२ हजार ८४८ मत ल्याए ।
यसैगरी प्रमुखमा राप्रपाका शंकर खरालले पाँच हजार ६७४, स्वतन्त्रका खडकराज पौडेलले तीन हजार ३०, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमप्रसाद गुरुङले ५४६ र विवेकशील साझाका सुशीला केसीले ३३८ मत प्राप्त गरे । पोखराको प्रमुखमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २० उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।
यसैगरी उपप्रमुखमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै एमालेकी गुरुङ दोस्रो कार्यकालका लागि विजयी भइन् । गुरुङले ६० हजार ५४६ मत प्राप्त गर्दा उनका निकटतम् प्रत्यासी रानाभाटले ५६ हजार ६६३ मत ल्याइन् ।
उपप्रमुखमा राप्रपाका रञ्जनाकुमारी सेन पौडेलले पाँच हजार ६९९, विवेकशील साझाका माधव भण्डारीले २६४ र आमुल परिवर्तन मसिया पार्टीका पदमबहादुर गुरुङले १३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपप्रमुखमा राजनीतिक दल तथा स्वतन्त्र गरी आठ उम्मेदवार चुनावी मैदानमा थिए ।
पोखरा महानगरका ३३ वडामध्ये कांग्रेसले २३, एमालेले नौ र वडा नम्बर २२ मा स्वतन्त्र उम्मेदवार हिमलाल बराल विजयी भए । विसं २०७४ को पहिलो स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुखसहित २२ वडामा एमाले विजयी बनेको थियो ।
विद्यार्थी राजनीति हुँदै महानगरको प्रमुखसम्म धनराज
पोखरा महानगरपालिका–३३ भरतपोखरीको गैरागाउँमा बुवा ऋतुनाथ आचार्य र आमा जमुनादेवी आचार्यको कोखबाट २०२६ चैत १७ गते जन्मिएका धनराज आचार्य नेकपा (एकीकृत समाजवादी)को कास्की अध्यक्षका साथै केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् । विसं २०३९ मा १३ वर्षको उमेरमा भरतपोखरीमा अनेरास्ववियूको प्रारम्भिक कमिटीको सदस्यतासँगै उनले विद्यार्थी राजनीति सुरु गरेका थिए ।
विद्यालयबाट आरम्भ भएको उनको विद्यार्थी राजनीतिले क्याम्पस तहमा पुगेपछि थप गति लियो । देशकै ठुलो र प्रतिष्ठित मानिने पोखराको पृथ्वीनारायण क्याम्पसमा उनी अनेरास्ववियूको प्रारम्भिक कमिटीमार्फत सक्रिय बने । एमालेसम्वद्ध विद्यार्थी संगठनमा २०४४ सालमा आवद्ध भएपश्चात उनले अनेरास्ववियूको विभिन्न जिम्मेवारी सम्हालेका थिए । विसं २०४५ मा अनेरास्ववियूको कास्की जिल्ला सदस्य रहेका आचार्य त्यसपछि संगठनको सचिव र अध्यक्षका रूपमा सक्रिय बने । विसं २०४८ मा अनेरास्ववियूको गण्डकी अध्यक्ष बनेका उनी २०४९ मा सो संगठनको केन्द्रीय सदस्य बने ।
पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निवार्चनमा विभिन्न पदमा निर्वाचित भइ जिम्मेवारी सम्हालेका उनी २०४९ सालमा पृथ्वीनारायण क्याम्पस स्ववियुको कोषाध्यक्ष बने भने २०५१ मा स्ववियुको सभापति निर्वाचित भए । विसं २०५१ देखि २०५३ सम्म स्ववियु काउन्सिलको महासचिव बनेका आचार्यले अनेरास्ववियूमा २०५० देखि २०५४ सम्म पश्चिमाञ्चल प्रमुख र २०५४ देखि २०५८ सम्म केन्द्रीय सचिवालय सदस्य बनेर विभागीय प्रमुखको जिम्मेवारी निर्वाह गरेका थिए।
विद्यार्थी राजनीतिमा जस्तै पार्टी जीवनमा पनि उनी कलिलै उमेरमा लागेका थिए । चौध वर्षको उमेरमा नै उनी तत्कालीन नेकपा (माले)को युवा लिगमा आवद्ध थिए । विसं २०४५ मा राष्ट्रिय पञ्चायतका सदस्य प्रत्याह्वानविरुद्धको आन्दोलनमा घाइते र गिरफ्तार आचार्य दुई वर्ष निरन्तर जेलका राजबन्दी र पार्टीबीचको सम्पर्क सूत्रको जिम्मेवारीमा रहे । उनले विसं २०४७ मा मालेको संगठित सदस्यता प्राप्त गरेका थिए । तत्पश्चात उनले २०४६ सालदेखि पाँच वर्षसम्म पार्टी विद्यार्थी इलाका कमिटीमा सदस्य र सचिवको जिम्मेवारी निर्वाह गरे ।
नेकपा (एमाले) कास्की जिल्ला कमिटी सदस्यका रूपमा २०५२ सालमा जिम्मेवारीमा रहेका नेता आचार्य २०५४ मा पार्टी विभाजनका बेला नेकपा (माले)मा आवद्ध भए । विसं २०५४ मा मालेको कास्की जिल्ला कमिटीको सचिवालय सदस्य रहे । पार्टीको विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गरेका आचार्यले व्यावसायिक संगठनहरूको नेतृत्वमा रहेर पनि कार्य गरे । विसं २०६० मा एमाले कास्कीको उद्योग व्यवसाय विभाग प्रमुख रहेका उनी २०६४ देखि पाँच वर्षसम्म फ्रयाक्सन सचिवका रूपमा रहे ।
त्यसैगरी विसं २०६९ देखि २०७६ सम्म नेपाल उद्योग व्यवसायी महासंघको स्थायी कमिटी सदस्य र २०७१ देखि चार वर्षसम्म एमाले केन्द्रीय उद्योग तथा श्रम व्यवसाय विभाग सदस्य बने । विसं २०७५ देखि २०७८ सम्म नेकपाको उद्योग तथा व्यवसाय विभाग सदस्य रहेका आचार्य पार्टीमा आन्तरिक विवादसँगै अगाडि बढेका समानान्तर गतिविधिमा सामेल भए । एमालेभित्र कास्कीमा समानान्तर गतिविधि अगाडि बढाउन उनले नेतृत्व लिए ।
विसं २०७८ मा एमाले जिल्ला कमिटी कास्कीको सामानान्तर अध्यक्ष बने । एमालेभित्र नेता माधवकुमार नेपालले थालेको समानान्तर गतिविधिमा सामेल उनी पार्टी विभाजनसँगै स्थापना भएको नेकपा (एकीकृत समाजवादी)को जिल्ला नेतृत्वमा रहे ।
राजनीतिबाहेक उनी विभिन्न व्यावसायिक र सामाजिक संस्थामा पनि अध्यक्ष, सञ्चालक र प्रमोटरका रूपमा आवद्ध रहँदै आएका छन् । उनको पाठ्यपुस्तक प्रकाशन गृह, शैक्षिक सामग्री उद्योग, स्कुल–कलेज सञ्चालन, रासायनिक मल उद्योग र हाइड्रोपावरजस्ता व्यावसायिक क्षेत्रमा संलग्नता छ । त्यसैगरी कृषि, पर्यटन, बैंकिङ र हस्पिटालिटीलगायत दुई दर्जन व्यासायिक प्रतिष्ठानमा आचार्य संग्लन छन् ।
नेपाल पुस्तक तथा व्यवसायी महासंघको महासचिव र राष्ट्रिय अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघको कार्यकारी सदस्य, उच्चस्तरीय पुस्तक नीति मस्यौदा समितिको विज्ञ सदस्य र पाठ्यपुस्तक मूल्य निर्धारण समितिमा विज्ञ सदस्यका रूपमा उनले कार्य गरिसकेका छन् ।
पोखरा महानगरको शिक्षा विज्ञ, लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ बी–१ को क्याबिनेट सेक्रेटरी र गभर्नर रहेका उनी स्व.रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान पोखराको महासचिव छन् । पढाऔँ अभियान नेपालका सूत्रधार उनले अर्थतन्त्र, शिक्षा प्रणाली तथा नीतिका सन्दर्भमा दर्जनौँ कार्यपत्र प्रस्तुत गरेका छन् । विभिन्न तालिम र अध्ययनका सिलसिलामा आचार्यले विश्वका ४५ देशको भ्रमण गरिसकेका छन् । भरतपोखरीको शान्ति उदय मावि हुँदै शैक्षिक यात्रा सुरु गरेका उनले एमबीए र एमएडसम्मको अध्ययन गरेका छन् ।
COMMENTS