पोखरा । पोखरा महानगरका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयोगको भुलका कारण अहिले धेरै मत बदर भएको र गठबन्धन शक्तिले धेरै ठाउँमा चुनाव हारेको तर्क गरेका छन् ।
विजयी र्यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले आयोगको बदनियतका कारण आफ्नो उपमेयरले चुनाव हारेको र आफूले पनि कम मत पाएको बताए । ‘निर्वाचन आयोगले धेरै बदनियत गर्यो । महानगर र भक्तपुरका नगरपालिकामा उम्मेदवार नभएका पार्टीको चुनाव चिन्ह हुँदैन भने । हामी त्यसमा लाग्यौँ । सोही अनुसार प्रचार गर्यौँ । तर, पछि सबै चिन्ह राखियो । हामी मतदाताको घरघरमा पुग्न सकेनौँ,’ उनले भने, ‘अहिले मत कति बदर भए भए । त्यसको लेखोट छैन । २४ वडाध्यक्ष जितेका छौँ, सबैमा वडा सदस्य जिताउनुपर्ने थियो । दुर्भाग्य धेरै ठाउँमा जिताउन सकिएन ।’
आयोगले नियतवश मतपत्र तलमाथि बनाएको आचार्यको आरोप छ । ‘मतपत्र जिकज्याक भयो । तराई र अरू ठाउँमा मतपत्र चिनाजस्तो लामो थियो, हाम्रो महानगरमा मान्द्रोजस्तो मतपत्र आयो । एकातिर सूर्य, अर्कोतिर रुख राखियो । छाता रुखजस्तै देखिने गरी बनाइयो । हुन सक्नेजति भ्रम थिए,’ अघि भन्छन्, ‘त्यसको व्यवस्थापन माननीय दिनेश थपलियाज्यूले गर्नुभयो । यसको नैतिक प्रश्न उठेको छ, संवैधानिक निकायमा बसेर मनपरी गर्न पाइन्छ कि पाइँदैन ? सरकारको ध्यानाकर्षण गराउँछु । यो प्रश्न थपलियामाथि सरकारले गर्नुपर्छ ।’ आगामी चुनावमा पनि यस्तो समस्या आउन सक्ने भन्दै उनले बेलैमा विचार गर्न सरकारको ध्यानाकर्षण गराए ।
‘निर्वाचन सकिएको छ, अर्को निर्वाचन आउने वाला छ । यही रवैया रहने हो भने, संवैधानिक निकायमा बसेर भाइबन्दी गर्ने हो भने उहाँले आफैलाई प्रश्न गर्नुपर्छ,’ आचार्यले भने, ‘निर्वाचन आयोग पोखरामा पनि छ । उहाँले त्यो प्रश्न पुर्याइदिनुहोला । थपलियाज्यू संवैधानिक निकायमा बसेर नैतिकताभित्र बसिदिनुस् । किनकि अहिले इतिहासमै सबैभन्दा बढी मत बदर भएको छ । तपाईंको कार्यक्षमतामाथि प्रश्न उठेको छ । यो मैले किन जोड दिएको छु भने हामीलाई पीडा छ । यदि यो समस्या थिएन भने मेयर २७ हजार मतले जितेको हुन्थ्यो । उपमेयरले १६ हजार मतले जित्नुहुन्थ्यो । २४ वडाका सबै सदस्यले जितेका हुन्थे ।’
COMMENTS