हुम्ला । २०७४ सालभन्दा यस पटकको स्थानीय तह निर्वाचनमा सात वटा गाउँपालिकामा महिला जनप्रतिनिधिको संख्यामा वृद्धि भएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा हुम्लाका सात गाउँपालिका र ४४ वडामा ८४ जना महिला निर्वाचित भएकोमा २०७९ सालको स्थानिय निर्वाचनमा जिल्लामा ९६ जना महिला जनप्रतिनिधि निर्वाचित भएका छन् ।
महिला जनप्रतिनिधिहरु उपाध्यक्ष २ जना, वडा अध्यक्ष १ जना, दलित महिला सदस्य ३६ जना, महिला सदस्या ४४ जना र १३ जना खुला सदस्या गरी जम्मा ९६ महिला निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।
निर्वाचित महिला सदस्यहरुमध्ये ८० जना महिला सदस्य र दलित महिला सदस्यमा निर्वाचित भएका छन् । यस्तै, १३ जना दुई खुला निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले बताए ।
नाँम्खामा ६ जना आरक्षण कोटा र एक जना खुला सदस्यमा निर्वाचित भए पनि दलित महिला सदस्याको हकमा शून्य देखिएको छ । सिमकोटमा ८ जना आरक्षण महिला सदस्य, ८ जना आरक्षण दलित महिला सदस्य र ८ जना खुल्ला सदस्यमा महिला जनप्रतिनिधि निर्वाचित भएको जिल्ला निर्वाचन कार्यलयको स्रोतले जानकारी दिएको छ ।
हुम्लाको मध्य भेगमा रहेको खार्पुनाथ गाउपालिकामा वडा नम्बर ४ मा वडाध्यक्ष सर्वसहमतिमा निर्वाचित भएकी छन् भने ५ जना आरक्षण महिला सदस्य, ५ जना आरक्षण दलित महिला सदस्य, एक जना खुलामा निर्वाचित भएका छन् ।
जिल्लाकै तल्लो भेगका पालिकाहरु सर्केगार्डमा ८ जना आरक्षण महिला सदस्य, ८ जना आरक्षण दलित महिला सदस्य र दुई जना खुला सदस्यामा निर्वाचित भएको जिल्ला निर्वाचन कार्यलयमा सूचना अधिकृत श्यामबहादुर रानाले बताएका छन् ।
यसैगरी जिल्लाको चङ्खेलीमा १० जना आरक्षण र एक जना खुला, अदानचुलीमा १२ जना आरक्षण र ताँजाकोट गाउँपालिकामा दश जना आरक्षण कोटाबाट मात्र निर्वाचित भएका छन् ।
स्थानीय तहको निर्वाचनमा महिलाका लागि आरक्षणको कोटा नभएको भए यो संख्या अझै कम हुने हुम्लाकी महिला अधिकारकर्मी गंगा बाहराले बताइन् । विगतमाभन्दा अहिले निर्वाचित हुने महिलाको संख्या बढे पनि दलहरूले महिलाहरुलाई अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र खुल्ला सदस्यमा खासै स्थान दिन नसकेको पाइएको छ ।
COMMENTS