उदयपुर । प्रमुखमा नेपाली कांग्रेसका वसन्तकुमार बस्नेत र उपप्रमुखमा नेकपा (एमाले)की महेश्वरी राई निर्वाचित भएका छन् ।
सोमबार सार्वजनिक मत परिणामअनुसार बस्नेत १३ हजार ९५९ र राई १३ हजार ७०३ मत प्राप्त गर्दै मेयर र उपमेयरमा निर्वाचित भएका हुन् ।
बस्नेतका निटकतम प्रतिद्वन्द्वी एमालेका भागवत राउतले ११ हजार ८ सय ७३ मत पाउँदा उपमेयरमा राईकी निटकतम् प्रतिद्वन्द्वी सरिता राईले ११ हजार ९८१ मत पाएकी छन् ।
नेकपा (माओवादी केन्द्र) सँग गठबन्धन गरेर मेयरमा उठेका नेकपा (एकीकृत समाजवादी) का बलदेव चौधरीले ९ हजार १४७ मत पाएका छन् भने उपमेयरकी प्रत्यासी माओवादीकी गीता खड्का कार्कीले ६ हजार ५६८ मत पाएकी छन् ।
गठबन्धन नगरी एक्लै लडेको कांग्रेस १६ मध्ये ९ वडामा कब्जा जमाउन सफल भएको छ । एमालेले ४ र माओवादीले ३ वडाध्यक्षमा जित हात पारेका छन् ।
कांग्रेसले १, ३, ४, ५, ८, ९, ११, १२ र १३ नम्बर वडामा र एमालेले २, ६, ७ र १० मा वडाध्यक्ष जितेका मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले जनाएको छ । माओवादीले १४, १५ र १६ नम्बरमा प्यानलै जितेको छ ।
कांग्रेसबाट जित्ने वडाध्यक्षहरूमा १ मा मनोजकुमार चौधरी, ३ तिलक कटुवाल, ४ मा बद्री बस्नेत, ५ मा उद्धवकुमार थापा, ८ मा राजकुमार राउत, ९ मा राजकुमार दनुवार, ११ मा सुमन्त कोइराला, १२ मा चुडाराज काफ्ले र १३ मा नवीनकुमार चौधरी रहेका छन् ।
त्यस्तै, एमालेका २ मा घमानसिंह खत्री, ६ मा योगेन्द्र दाहाल, ७ मा अम्मर दनुवार र १० मा किरण पाण्डे तथा माओवादीबाट १४ मा हिमराज मगर, १५ मा गणेशप्रसाद तिम्सिना र १६ मा मानबहादुर राई वडाध्यक्ष निर्वाचित भएका हुन् ।
कांग्रेस र एमालेले जितेका वडाहरूमा छिटफुट मिश्रित परिणाम आएको छ भने माओवादीले जितेको तीनवटै वडामा प्यानलै आएको छ । प्रायः सबै वडामा एमाले, कांग्रेसबीच कडा प्रतिस्पर्धा भएको थियो ।
अघिल्लो निर्वाचनमा एमालेले कब्जा जमाए पनि बराबर रहेको सदरमुकाम त्रियुगामा यस पटकको निर्वाचन परिणामले पार्टीलाई झन्डै अस्तित्व रक्षाको अवस्थामा पुर्याएको देखाएको छ ।
COMMENTS