कुटपिटपछि मृत्यु प्रकरण : गीताको शव उठ्यो, नाबालिग छोरीले गरिन् बाबुविरुद्ध उजुरी

  • कुलप्रसाद काफ्ले

चितवन । श्रीमानले मलद्वारमा लौरो घुसाउँदा गम्भीर घाइते भइ उपचारका क्रममा मृत्यु भएकी पूर्वी चितवनको खैरहनी नगरपालिका–१० की गीता माझीको शव उठेको छ । उनको सोमबार राति साढे ११ बजेको समयमा भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

शवको पोष्टमार्टमपछि खैरहनी नगरपालिकाले गीताको शव उठाएको हो । उनको दाहसंस्कार पनि नगरपालिकाले नै गर्ने भएको छ । शवलाई अहिले उनको घरमा लगिएको छ । शवको जिम्मा लिने व्यक्ति नभएपछि स्थानीय सरकारले दाहसंस्कार गर्ने गरी जिम्मा लिएको खैरहनी नगरपालिकाकी उपमेयर कविता उप्रेतीले जानकारी दिइन् ।

आरोपित रामचन्द्र माझीविरुद्ध उनकै छोरी पुष्पा माझीले उजुरी दर्ता गरेकी हुन् । हिरासतमा रहेका रामचन्द्रविरुद्ध प्रहरीले यसअघि नै ज्यानसम्बन्धी र बलात्कारको मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ । घटना भएको पाँच दिनपछि छोरीले बाबुविरुद्ध लिखित उजुरी दिएकी हुन् ।

गीताका १५ र १३ वर्षका दुई छोरी छन् । उनीहरुको जिम्मा स्थानीय अधिकारकर्मीहरुले लिने भएका छन् । त्यस्तै, किरिया खर्चका लागि अधिकारकर्मीहरुले सहयोग संकलन पनि गरेका छन् ।

किरिया खर्चका लागि जिल्ला बाल कल्याण समितिले १० हजार, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले १५ हजार, बागमती प्रदेश सांसद् रीना गुरुङले पाँच हजार रुपैयाँ र विभिन्न व्यक्ति तथा संस्थाले स्वेच्छिक रुपमा ३१ हजार रुपैयाँ उपमेयर उप्रेतीमार्फत छोरी पुष्पा माझीलाई हस्तान्तरण गरेका छन् ।

न्यायिक प्रक्रिया अघि बढ्दै जाँदा बाबुविरुद्ध उजुरी दिने छोरीको मन फेरिन सक्ने भएकाले चितवन प्रहरीले अधिकारकर्मीहरुको सहयोग लिएको छ । बयान र साक्षीलगायतको सहयोगका लागि चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारीले जनप्रतिनिधि र अधिकारकर्मीसँग सहयोग मागेका हुन् ।

एसपी अधिकारीले भने, ‘महिलाका संवेदनशिल घटनामा पीडित वा पीडित पक्षका व्यक्ति होस्टाइल भइदिँदा न्यायिक प्रक्रियामा समस्या आउने भएकाले जनप्रतिनिधि र अधिकारकर्मीसँग सहयोग मागेका हौँ ।’ न्यायिक प्रक्रियाका लागि आफूहरुले सहयोग गर्ने उनीहरुले अधिकारकर्मीहरुले प्रतिबद्धता पनि जनाएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board