बोक्सीको आरोपमा दुई वृद्धा महिलामाथि कुटपिट

  • विशाल बस्नेत

महोत्तरी । महोत्तरीमा बोक्सीको आरोपमा दुई वृद्धा महिलालाई निर्घात कुटपिट गरिएको छ । जलेश्वर नगरपालिका–६ धवौलीका कालीदेवी महतो र दुलरिया महतोलाई बोक्सीको आरोपमा छिमेकीले निर्घात कुटपिट गरेको पीडित पक्षले बताएको छ ।

छिमेकी भुलन रामचमारले आफ्नी बुहारीलाई टुनामुना लगाएर बिरामी बनाएको भन्दै उनीहरूलाई कुटपिट गरिएको बताइएको छ । कुटपिटका क्रममा दुवैजनाको मुख, घाँटी र ढाडमा चोट लागेको छ । अहिले कालोदेविको जानकी हेल्थ केयर जनकपुरमा उपचार भइइरहेको छ ।

के भएको थियो ?
२६ जेठमा भुलन रामचमारको घरमा विवाहको रौनक थियो । भुलनको घरमा जमघट र रमाइलो चलिरहेका बेला उनकी बुहारी सोमारीदेवी एक्कासी बिरामी भइन् ।

सोही समयमा सोमारीदेवी देवता चढेको भन्दै बक्न थालिन् । सोमारीदेवीले कालीदेवी बोक्सी लागेको र उनलाई घरमा ल्याउन निर्देशन दिइन् । त्यसपछि तुरुन्तै सोमारीदेवीका कान्छा ससुरा भुलन रामचमार कालीदेवदीका घरमा पुगे र उनलाई लिएर आफ्नो घरमा आए ।

झुक्याएर घरमा ल्याएका कालीदेवीलाई आगनमा पुर्‍याएपछि बुहारीमाथि बोक्सी लगाएको भन्दै कपडा समेत खोलेर नांगेझार बनाइ निर्घात कुटपिट गरिएको दाबी छ । कालीदेवीको नाम लिइरहेकी सोमारीले दुलहरिया देवीलाई पनि तुरुन्त ल्याउन निर्देशन दिइन् ।

भुलनसहित उनका परिवार दुलहरियालाई खोज्दै जाँदा खेतमा फेला पारे । पीडित पक्षका दुलहरियाको चुल्ठोमा समातेर लडाइयो र कपडा खोलेर नजिकै रहेको पोखरीमा डुबाइयो ।

अहिले दुलरिया देवीको गाउँमा नै घरेलु उपचार भइइरहेको छ । ५२ र ५३ वर्षीया दुवै महिलालाई मलमुत्र खुवाउने प्रयाससमेत भएको पीडित पक्षको भनाइ छ ।

प्रहरी के गर्दै छ ?
पीडित कालीदेववीका छोरा अमित महतो र दुलहरीदेवीका नाती रामजीवनले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

२७ जेठमा नै प्रहरीले कुटपिट गरी ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गरिसकेको छ । घटनामा संलग्न भएको आरोप लागेका रामभुलन र सोमारीदेवीलाई प्रहरीले पक्राउ गरिसकेको छ । घटनामा संलग्न अन्य फरार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

फरारको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज राइले जानकारी दिए । पक्राउ परेकालाई म्याद थप्ने प्रक्रिया अगाडि बढाएर अनुसन्धान भइरहेको उनले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board