नाला सफाइपछि अब सडकका खाल्डा पुर्न थाल्यो पोखरा महानगर

पोखरा । पोखरा महानगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्ने भएको छ । महानगरमा नयाँ जनप्रतिनिधि आएसँगै ढल र नाला सफाइ गरिएकोमा अब खाल्डाखुल्डी पुर्न थालिएको हो । अभियानमा मेयर धनराज आचार्य आफैँ होमिएका छन् ।

३३ वटै वडामा ढल र नाला सफाइ अभियानलाई निरन्तरता दिइएको छ । नगरमा डुलिहिँड्ने छाडा चौपायालाई देख्नेबित्तिकै कान्जी हाउस पुर्‍याउन थालिएको छ ।

शनिबारदेखि भने सडकका खाल्डा पुर्ने अभियान सुरु भएको छ । यसका लागि पूर्वाधार महाशाखा प्रमुख पूर्ण गुरुङको नेतृत्वमा समूह नै बनेको छ । मुख्य सडक र सहायक सडकमा खाल्डा परेर गाडी गुड्न समस्या भएपछि तत्कालै खाल्डा पुर्न थालिएको हो ।

गुरुङका अनुसार खाल्डा परेको थाहा पाएपछि तीनदिन भित्रमा पुरिसक्ने अभियान थालिएको हो । ‘खाल्डा परेको जानकारी महानगरलाई आउनुपर्छ । त्यसको ३ दिनभित्र पुरिसक्छौँ,’ उनले भने, ‘यसलाई अझै द्रुत बाटोबाट गर्ने प्रयास गर्नेछौँ ।’ शनिबार पोखरा वडा नम्बर ५ का विभिन्न सडकको खाल्डा पुरिएको छ ।

कालोपत्र गर्ने अलकत्रा बनाउन भने समस्या छ । त्यसका लागि छुट्टै प्रविधि भित्र्याउनुपर्ने सबइञ्जिनियर नेत्र तिमिल्सीना बताउँछन् । ‘खाल्डा पुर्ने काम सजिलो छैन । हेर्दा सानो भएपनि काम निकै कष्टपूर्ण छ । अलकत्रा जतापायो त्यहिँ पोल्न मिल्दैन,’ उनले भने, ‘प्रदुषण हुन दिन पनि भएन । झण्झट कम हुने गरी प्रविधिको विकास गर्नुपर्छ । त्यसको खोजीमा महानगर लागेको छ ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board