- मोहम्मद हबिब
भैरहवा । शनिबारदेखि सीमामा रोकियो पेट्रोलियम पदार्थको ट्यांकर सोमबार अबेर भैरहवा भन्सार कार्यालय भित्रिएको छ । भारतीय भन्सार कार्यालयले एडी कोड नभएको भन्दै ३ दिनदेखि रोकेको ट्यांकर म्यानुअल रुपमा कोड प्रविष्ट गरेपछि साझ सवा ७ बजे नेपाल आएका हुन् ।
भारतीय भन्सार कार्यालयले प्रयोग गर्दै आएको सिस्टम अपडेट गर्दा नेपाल आउने पेट्रोलियम पदार्थ शनिबारदेखि सिमामा रोकिएको थियो । भारतीय भन्सार कार्यालयले एडी कोड प्रविष्ट गरेर मात्रै निर्यात दिने व्यवस्था अनिवार्य गरेपछि तेल आयात हुन सकेको थिएन । भारतीय आयल कर्पोरेशनले एडी कोड राख्नु पर्छ, शुक्रबारदेखि लागु भएको नयाँ व्यवस्था अनुसार कर्पोरेशनले कोड नराखिदिँदा नेपालतर्फ पेट्रोलको सञ्चिति घटेको थियो ।
नेपाल आयल निगम प्रादेशिक कार्यालय भलवारीले भारतीय भन्सार कार्यालयमा प्रतिनिधि पठाएर म्यानुअल रुपमा काम अगाडि बढाएसँगै रोकिएका ट्यांकर नेपाल आएको कार्यालय प्रमुख नव विनोद पोखरेलले जानकारी दिए । तत्कालका लागि आइओसीले म्यानुअल गरिदिनका लागि भारतीय भन्सारलाई अनुरोध गरेपछि हाललाई नेपाल आउने पेट्रोलियम पदार्थको अवरोध हटेको छ । आइओसीले छिट्टै आफ्नो सिस्टम अपडेट गरेर अनलाइनमार्फत् आइसिई गेट पोर्टलमा बैक, एडी कोड, खाता नम्बर, लोकेसनसहितको डाटा प्रविष्ट गर्छ ।
भारतमा रोकिएको डिजल पेट्रोलको ७५ वटा ट्यांकर र ग्यासको ४८ वटा बुलेट नेपाल आएको छ । भैरहवा भन्सार कार्यालयले भन्सार प्रक्रिया पुर्याइ तत्कालै ट्यांकरहरु गनतव्यमा पठाउने भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तिर्थराज पासवानले बताए ।
“आइओसी सिस्टममा नजाँदा समस्या आएको हो, भन्सारले जति सक्दो छिटो आएका ट्याङकर भन्सार गरेर पठाउँछ,” उनले भने ।
नेपालमा आइओसीमार्फत् तेल आउने गर्छ, भारतीय आइसिई गेट पोर्टलमा बैंक, एडी कोड, खाता नम्बर, लोकेसनसहितको डाटा प्रविष्ट गर्नुपर्छ । जसका लागि अनिवार्य रुपमा चालु रहेको खाताको पासबुकको फोटो र खाता वाहकको बैंकले जारी गरेको प्रमाण पत्र चाहिन्छ । यी प्रक्रिया अपनाएर आधिकारिक रुपमा दर्ता र अध्यावधिक गर्नुपर्छ ।
३ दिन तेल आयात रोकिँदा नेपालतर्फ अभाव हुन थालेको थियो । डिजलको भण्डारण क्षमताभन्दा पेट्रोलको कम भएकाले बजारमा पेट्रोलको अभाव सिर्जना भइसकेको थियो ।
COMMENTS