असारको तेस्रो सातापछि मात्र पाक्ने, विषादी आँप बजारमा छ्यापछ्याप्ति

बारा, ३१ जेठ । बाराको बजारमा मानव स्वास्थ्यका लागि हानि गर्ने विषादी क्याल्सियम कार्बाइड प्रयोग गरेर पकाइएका आँप अ बिक्री वितरण भइरहेको छ ।

बगैंचामा फलेका आँप असारको तेस्रो सातापछि मात्रै पाक्न सुरु भई खान योग्य हुने भए पनि बाराको बजारमा अहिले कर्वाइट नामक विषादी हालेर पकाइएका आँप छ्यापछ्याप्ति बिक्री वितरण भइरहेको हो ।

बाराको कलैया, जीतपुर, सिमरा, निजगढका बजारहरुमा कार्बाइड हालेर पकाइएका आँप बिक्री वितरण भइरहेको छ । यो सिजनको सुरुमा भारतबाट आँप ल्याएर बिक्री गरेका बाराका व्यापारीहरुले दुई सातायता भने पूर्वका जिल्लाबाट पनि काँचो आँप ल्याएर गोदाममा राखी कार्बाइड हालेर पकाएर बजारमा बिक्री गरिररहेका हुन् ।

व्यापारीहरूले प्रतिकेजी ४०/५० रुपैयाँका दरले काँचो आँप किनेर कार्बाइड प्रयोग गरेर १०० देखि १५० रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् । बारा तरकारी तथा फलफूल व्यवसायीका अनुसार सिजनको सुरुमा बारा र यस आसपासाका बजारहरुमा भारतको गोवा, मद्रास, केरला, आन्ध्र प्रदेशबाट आँपको आयात हुने गरेको बताए । असार पहिलो सातापछि भने तराईका पूर्वी जिल्लामा फलेका आँप बाराको बजारमा आउने गरिएको व्यवसायीको भनाइ छ ।

कृषि ज्ञान केन्द्र बाराको अनुसार भारतबाट चैतदेखि नै आँप ल्याएर बिक्री गर्ने क्रम सुरु भइसक्छ । नेपालमा उत्पादित आँप असार तेस्रो साताबाट मात्र खानयोग्य हुने गरेको केन्द्रले जनाएको छ । अहिले बजारमा पाइने आँप, छिटो पकाउन कार्बाइड विषादी प्रयोग गर्ने गरिएकाले ती आँप नखाँदा नै उपयुक्त हुने सुझाव समेत केन्द्रको छ ।

विषादी राखेर पकाइएका आँप खाँदा टाउको दुख्ने, रिंगटा लाग्ने, मानसिक तथा नशासम्बन्धी समस्या देखापर्ने, स्मरणशक्ति कमजोर हुने, स्वास प्रश्वासमा समस्या हुने र झाडापखला लगायतका रोग देखा पर्ने नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर उदयनारायण सिंहले बताए ।

चलित खाद्य ऐन २०२३ ले कृत्रिम रसायन कार्बाइड प्रयोग गरी आँप पकाउन प्रतिबन्धित गरेको छ । खाद्य ऐन अनुसार प्रतिबन्धित यस्ता रसायन प्रयोग गरी आँप बिक्री वितरण गर्ने व्यवसायीलाई १० हजारदेखि २५ हजार रुपैयासम्म जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था छ । तर व्यापारीहरुले कार्बाइड विषादी राखेर पकाएका आँप खुलेआम रुपमा बिक्री गरिरहँदा पनि स्थानीय प्रशासन भने मौन बसेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board