बजेट निर्माणमा अनाधिकृत व्यक्ति सहभागी गरायो भन्ने झुटा र भ्रामकः अर्थमन्त्री शर्मा

काठमाडौं, ३१ जेठ । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्ति सहभागी गरायो भन्ने झुटा र भ्रामक कुरा रहेको बताएका छन्।

बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराइएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले राजीनामा माग गरिरहेको बेला अर्थमन्त्री शर्माले यस्तो स्पष्टिकरण दिएका हुन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले बाहिरी मानिसले बजेटमा राजश्वको दर हेरफेर गरेको भन्दै प्रश्न उठाइरहेका छन्।

यसबारे प्रष्टीकरण दिँदै अर्थमन्त्री शर्माले मन्त्रालयका जिम्मेवार पदाधिकारीले बजेट बनाएको बताए। ‘मन्त्रालयका जिम्मेवार पदाधिकारीहरू सचिवहरूको नेतृत्वमा बजेट टुंग्याइएको हो,’ उनले भने, ‘सबै कामहरू आधिकारिक ढंगले भएका छन्। अर्थ मन्त्रीको हैसियतले जिम्मेवारीप्रति उत्तरदायी भएर बजेट बनाएको कुरा स्पष्ट गर्न चाहन्छु। अनधिकृत व्यक्तिले बजेट बनायो भन्ने कुरा झुटा र भ्रामक रहेको स्पष्ट गर्न चाहन्छु।’

उनले मंगलबार प्रतिनिधिसभा बैठकमा समय माग गरेर बोल्दै बजेट निर्माणका लागि अर्थ मन्त्रालयमा अर्थ सचिव र राजस्व सचिवको नेतृत्वमा टिम परिचालन हुने र उनीहरुले तयार गरेको बजेटमा अर्थमन्त्रीको हैसियतमा आफूले सरकारको नीति तथा भिजन मात्रै दिने अधिकार भएको र सोही अनुसार काम गरिएको बताए।

अर्थमन्त्री शर्माले कार्य सम्पादन नियमावलीले आफूलाई बजेट निर्माण गर्न अधिकार दिएको र सोही अधिकार मात्रै आफूले प्रयोग गरेको पनि पटकपटक दोहोर्‍याए। सरोकारवालाको सुझाव, सम्बन्धित मन्त्रालयले पठाएको कार्यक्रम र योजनाहरुकै आधारमा अर्थ मन्त्रालयको पदाधिकारीले बजेट बनाउने विधि र प्रक्रिया रही आएको अर्थमन्त्री शर्माको भनाई थियो।

‘बजेट तुर्जमा सम्बन्धि विषयलाई लिएर केही मिडियामा आएको समाचार बारे माननीयज्यूहरुले उठाउनु भएको प्रश्नको बारेमा म स्पष्ट गर्न उभिएको छु। नेपाल सरकार कार्यसम्पादन नियमावली, २०७४ अनुसार तोकिएको जिम्मेवारी भित्र रहेर कार्य सम्पादन हुने कुरा म स्पष्ट गर्न चाहन्छु’, उनले भने, ‘बजेट तथा आर्थिक विधेयक तर्जुका सम्बन्धमा स्पष्ट रुपमा परिभाषित गरिएका प्रक्रियाहरु छन्। ती प्रक्रियाहरु अन्तर्गत रहेर मुख्यतः अर्थसचिव र राजश्व सचिव दुई वटा सचिव रहेको व्यवस्था छ अर्थ मन्त्रालयमा। र उहाँहरुको मातहतमा रहनु भएका अन्य विभागीय प्रमुखहरु र कर्मचारीहरुको तहमा विभिन्न स्तरमा छलफल भएर र विभिन्न सरोकारवालाहरुबाट आएका सुझावहरुलाई समेत ध्यान दिएर प्रस्तावहरु बन्ने गर्दछ।’

अर्थमन्त्री शर्माले थप स्पष्ट पार्दै भने, ‘त्यसलाई आवश्यक तयारी गरेर निष्कर्षमा ल्याउने र अर्थमन्त्रीले सरकारको नीति र भिजनलाई नीतिगत रुपमा निर्देशन दिने त्यस आधारमा बजेट तयार हुने परम्परा रहेको र अहिले पनि त्यसरीनै बजेट तयार भएको म स्पष्ट गर्न चाहन्छु।’ छलफल हुँदा प्राप्त भएका सुझावहरुलाई बढि भन्दा बढि समेटने कुरामा ध्यान दिने र सम्बन्धित मन्त्रालयहरुले तय गरेर पठाएका कार्यक्रम र योजनाहरु अर्थ मन्त्रालयका बजेटसँग सम्बन्धित पदाधिकारीहरुबीचको दुई पक्षीय छलफलको आधारमा त्यसलाई टुंग्याउने परम्परा रहेको भन्दै उनले सोही अनुसार नै अहिलेको बजेट पनि बनेको दाबी गरे।

‘बजेट निर्माण गर्दा राजस्वको दरहरु गर्न कुनै मान्छे रातको १२ बजे आएर चलखेल गर्‍यो भन्ने सन्दर्भमा जुन विषय उठेको छ। त्यो अत्यन्त भ्रामक, कपोकल्पित एउटा झुटा कथा बनाइएको छ। यसको म खण्डन गर्न चाहन्छु। खारेज गर्न चाहन्छु’, उनले भने, ‘मन्त्रालयका जिम्मेवार पदाधिकारीहरु भन्नाले सचिवज्यूहरुको नेतृत्वमा, राजस्व सचिवको नेतृत्वमा राजस्व सम्बन्धि तयारी र अर्थ सचिवको नेतृत्वमा अर्थ सम्बन्धि तयारी दुवै तयारी पनि हुने गरी कार्य विभाजन हुने, कमिटीहरु बन्ने र ती कमिटीहरुले नै यी कुराहरुलाई प्रक्रियागत रुपमा टुंग्याउने भएको हुनाले यी कुराहरु त्यसरी सम्पन्न भएको म स्पष्ट गर्न चाहन्छु।’

उनले सबै कामहरु आधिकारिक ढंगले भएको र अर्थमन्त्रीको हैसियतले गरिएको कार्य सम्पादन नियमावली अनुसार प्राप्त भएको जिम्मेवारी प्रति उत्तरदायी भएर बजेट बनाइएको स्पष्ट पारे। ‘कुनै पनि अनाधिकार व्यक्तिले बजेट बनायो भन्ने कुरा झुटा र भ्रामक भएको कुरा स्पष्ट पार्न चाहन्छु,’ उनले दोहोर्‍याए। अर्थमन्त्री शर्माले राजस्व परिचालनबारे राजस्व सचिव र अर्थ परिचालन सम्बन्धि अर्थ सचिवले आवश्यक तयारी गर्ने हुनाले त्यसमा अर्थमन्त्रीले खेल्न मिल्ने कुनै अधिकार नभएको जिकिर गरे।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board