चितुवाको आक्रमणबाट बालकको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–१ बोडीस्वाँरामा चितुवाको आक्रमणबाट आज एक बालकको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट स्थानीय पाँच वर्षीय सुपिम्र रिलामीको ज्यान गएको हो ।

घरको आँगनमा खेलिरहेको अवस्थामा रिलामी चितुवाको आक्रमणमा परेका हुन् । उनको शव घरभन्दा २०० मिटर टाढाको छपेली सामुदायिक वनमा फेला परेको बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए । “चितुवाको आक्रमणमा परेको थाहा पाउने वित्तिकै खोज्दै जाँदा वनमा मृत फेला पार्‍यौँ,” उनले भने । चितुवाले बालकको घाँटीमा आक्रमण गरेको छ ।

केही दिनयता बन्दीपुरमा चितुवाको आतंक बढेको छ । गत शनिबार र आइतबार चितुवाको आक्रमणबाट बन्दीपुर–१ र ४ मा दुई जना घाइते भएका थिए । चितुवा नियन्त्रणका लागि त्यहाँ खोर राखिएको छ । विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । त्यसयता चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँमा ११ बालबालिकाले ज्यान गुमाइसकेका छन् ।

चितुवा आहारा खोज्दै मानव बस्तीमा पस्ने गरेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board