धनकुटा । धनकुटामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका–६, पात्लेखोलाको किनारमा निर्माण गरिएको पोखरीमा डुबेर दुई जना बालकको ज्यान गएको हो ।
पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा नगरपालिका–४ का १५ वर्षीय सोनिम राई, धनकुटा नगरपालिका–२ का १४ वर्षीय उदय राईको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । धनकुटा एग्रो टुरिजम एण्ड फन भ्यालीले पर्यटकका लागि बोटिङ गर्न र माछापालनको लागि बनाएको पोखरीमा पौडी खेल्ने क्रममा उनीहरूको डुबेर ज्यान गएको हो ।
पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका बालकको उद्धार गरी जिल्ला अस्पताल धनकुटामा लगिएकोमा अस्पतालले उनीहरूलाई मृत घोषित गरेको थियो ।
उदयको जन्मदिनको अवसर पारेर उदयसहित स्वर्णीम र धनकुटा नगरपालिका–५ का सन्देश राई पात्लेखोला पौडी खेल्न गएका थिए । सन्देश भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
पौडी खेल्न पोखरी छिरेका साथीहरू बेपत्ता भएपछि सन्देशले नजिकैको बस्तीमा गएर खबर गरेका थिए । घटना पश्चात जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मीराज अधिकारीको कमाण्डमा गएको प्रहरी टोलीले उद्धार गरेको थियो ।
COMMENTS