खोटाङमा पहिरोले ६ घर विस्थापित

खोटाङ । पहिरोका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ६ घर विस्थापित भएका छन् ।

शुक्रबार राति परेको भारी वर्षाका कारण गाउँ चिराचिरा पर्दा साविकको जालपा–८ सावालुङका जितबहादुर राई, भीमबादुर राई, कर्णबहादुर राई, रामीरा राई र शारदा राईको परिवार विस्थापित भएका हुन् । यस्तै, पहिरोका कारण साविकको जापला–३ का धनकुमार विश्वकर्माको परिवार पनि विस्थापित भएका छन् ।

धँजा फाटेर पहिरो गएर बगाउने खतरा भएपछि विस्थापितलाई हुर्लुङ–जालपा–फेदी सडक छेउमा खेतमा प्लाष्टिक टनेल टाँगेर अस्थायी बसोबासको व्यवस्था मिलाइएको वडाध्यक्ष दानबहादुर राईले बताए । वडा कार्यालय र टोल विकास संस्था सावालुङको पहलमा विस्थापितलाई शनिबारदेखि अस्थायी बसोबासको व्यवस्था मिलाइएको हो । विस्थापितमध्ये एकल महिला रामीरा र अभिभावकविहीन शारदाको अवस्था नाजुक छ ।

घटनाका विषयमा जानकारी आएपछि प्रहरीलाई मुचुल्का उठाउन लगाइएको उपमेयर बिसन राईले बताए । विस्थापितको उद्धार तथा राहतका लागि पहल गरिने उनले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board