काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी साउन १ गतेदेखि लागु हुने गरी कुहिने र नकुहिने फोहर संकलनका लागि तालिका सार्वजनिक गरेको छ । काठमाडौँ महानगरले एक सूचना जारी गर्दै कुहिने फोहर संकलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकेको छ । तोकिएबमोजिम नागरिकले फोहर व्यवस्थापनका लगि सहजीकरण गर्नुपर्ने छ ।
महानगरले एक महिनाअघि नै सूचना जारी गरी फोहर वर्गीकरण गर्नेबारे नगरवासीलाई जानकारी गराएको थियो । पटक–पटकको सूचनालाई व्यवस्थित गरी वर्गीकरण नगरिएका फोहर बोक्ने गाडीसम्म ल्याए पुनः घरमा नै फर्काएर कारबाही स्वरुप प्रतिव्यक्ति ५०० जरिबानासमेत गर्ने जनाइएको छ ।
काठमाडौँ महानगरपलिका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार यसरी छुट्याइएको फोहोर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहर लिने गाडी पनि फरक–फरक दिन आउने भएकाले नागरिकले सोही अनुरुप व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
महानगरको आग्रहलाई वेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५ (थ) तथा फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८(थ) अनुसार कसूर मानी सजाय गर्ने पनि महानगरले जनाएको छ ।
COMMENTS