आज साउने सङ्क्रान्ति, यसकारण फालिन्छ लुतो

काठमाडाैँ । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै छ ।

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।

अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन् । एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भइ रमाइलो गरेर मनाउँछन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।

लुतो फाल्दा आआफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि धर्मशास्त्रविद् गौतमले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board