भारतका नयाँ राष्ट्रपति चुनावः सन्थाल समुदायकी द्रौपदी भारतकी राष्ट्रपति बन्ने पक्का

काठमाडौं, साउन २ । भारतमा आज नयाँ राष्ट्रपतिका लागि चुनाव भइरहेको छ। संघीय संसदका सदस्य, विधान सभा सदस्य र केन्द्र प्रशासित क्षेत्रका सांसदहरूले नयाँ राष्ट्रपति चुन्न अहिले मतदान गरिरहेका छन्।

आज भएको मतदानको गणना बिहीबार हुनेछ। आजको चुनावबाट सत्तारूढ गठबन्धनकी उम्मेदवार द्रौपदी मुर्मु राष्ट्रपति निर्वाचित हुने पक्कापक्की रहेको जनाएका छन्। केही विपक्षी दलहरू र क्षेत्रीय पार्टीहरूले पनि मुर्मुलाई सघाउने निर्णय गरेसँगै उनी दुई तिहाइ बढी मत ल्याएर विजयी हुने अपेक्षा गरिएको छ।

निर्वाचित भए मुर्मु भारतमा पहिलो आदिवासी महिला राष्ट्रपति हुनेछन् भने प्रतिभा पाटिलपछि राष्ट्रपति हुने दोस्रो महिला हुनेछन्।

‘मेरो उम्मेदवारीले देशभरिका आदिवासी महिलामा उत्साह छाएको छ,’ आइतबार साँझ मुर्मुले एउटा कार्यक्रममा भनिन्,‘भारतभरि १० करोड आदिवासी र ७ सय समुदाय छन्। मेरो उम्मेदवारीले उनीहरू खुसी छन्।’

भारतीय राज्य उडिसामा जन्मिएकी मुर्मु सन्थाल समुदायकी हुन्। यो समुदायका मानिस नेपालको झापा, मोरङ र सुनसरीमा पनि बसोबास गर्छन्। २०६८ सालको जनगणनाअनुसार नेपालमा सन्थाल समुदायको जनसंख्या ५१ हजार ७ सय छ।

भारतको झारखण्डमा ठूलो संख्यामा सन्थालहरू बसोबास गर्छन्। भारतीय राज्यहरू बिहार, पश्चिम बंगाल, उडिसा र असमसहित बंगलादेशसम्म सन्थाल समुदाय छरिएको छ।

मुर्मुको जन्म उडिसाको मयुरभन्ज जिल्लामा सन् १९५८ मा भएको हो। सामान्य परिवारमा जन्मिएकी मुर्मुले कलेजसम्मको अध्ययन पूरा गर्न निकै संघर्ष पार गर्नुपरेको थियो।

भुवनेश्वरको रमादेवी वुमन्स कलेजबाट स्नातक गरेपछि मुर्मुले उडिसा सरकारको सिँचाइ तथा उर्जा विभागमा जुनियर असिस्टेन्टका रूपमा काम गरेकी थिइन्। केही समय उनले विद्यालयमा पढाएकी पनि थिइन्।

सन् १९९७ मा उनी भारतीय जनता पार्टीको तर्फबाट नगरपञ्चायतमा निर्वाचित भएकी थिइन्। त्यसको तीन वर्षपछि उडिसा विधान सभा सदस्य बनिन्।

उडिसामा बनेको भाजपा र बिजु जनता दल मिलेर बनेको सरकारमा उनी विभिन्न समयमा मन्त्री बनेकी थिइन्।

नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि सन् २०१५ मा उनलाई झारखण्डको गभर्नर नियुक्त गरेका थिए। झारखण्डको गभर्नर बन्ने उनी पहिलो महिला हुन्। गत वर्षको जुलाई १२ सम्म झारखण्डकी गभर्नर रहेकी मुर्मुलाई यसपालि भाजपाले देशको सर्वोच्च पद राष्ट्रपतिको उम्मेदवार बनाएको हो।

विपक्षी गठबन्धनले मुर्मुसँग प्रतिष्पर्धा गर्न पूर्व केन्द्रीय मन्त्री यशवन्त सिन्हालाई उम्मेदवार बनाएको छ।

राष्ट्रपतिका लागि ४ हजार ८ सय ९ जनाले मतदान गर्न पाउँछन्। संघीय संसद र विधान सभा सदस्यको मतभार फरक(फरक हुन्छ।

सबै मतदाताको मतभार १० लाख ८६ हजार ४ सय ३१ हुन्छ। यसअघि २०१७ मा भएको राष्ट्रपतीय चुनावमा रामनाथ कोविन्दले ७ लाख भन्दा बढी मतभार पाएका थिए। मुर्मुले पनि यसपालि झन्डै दुई तिहाइ मत पाउने सम्भावना छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board