हत्या गरी गाडेको अवस्थामा ४८ दिनपछि महिलाको शव फेला

सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–१ शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि शुक्रबार शव फेला परेको छ । शीतलपुर निवासी बालदत्त भन्ने राजेशकुमार रायले आफ्नै २० वर्षीय श्रीमती निशा यादवको हत्या गरी धान खेतमा गाडेको अवस्थामा शव फेला परेको हो ।

महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा माइती र ससुराली पक्षले दिएपछि खोजीमा जुटेको प्रहरीले ४८ दिनपछि धान खेतमा शव गाडिएको अवस्थामा फेला पारेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

हत्यामा संलग्न मृतक निशा यादवका श्रीमान् रमजेशकुमार राय, ससुरा रामप्रताप राय र देवर राजु यादवलाई नियन्त्रणमा लिइ आवश्यक कारबाही प्रक्रिया अगिाडि बढाइएको उनले जानकारी दिए । निशाका घरका सदस्यहरुमाथि प्रहरीको शंका लागेपछि प्रविधियुक्त विश्लेषण गर्ने क्रममा हत्यामा संलग्नहरुको पहिचान हुन सकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता यादवले जानकारी दिए । ससुराली पक्षले निशाको हत्या गरी आफ्नै धान खेतमा खाल्डो खनी गाडेको थियो । शुक्रबार सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, सर्लाहीका प्रहरी प्रमुख उपरीक्षक प्रवीण पोखरेलसमेत अनुुसन्धान टोली घटनास्थलमा पुगेर धान खेतमा खाल्डो खन्दा सडिसकेको अवस्थामा शव फेला परेको छ । निशालाई गएको जेठ २२ गतेका दिन नै हत्या गरिएको प्रहरीले जनाएको छ ।

महोत्तरी सोनामा गाउँपालिका–१ मगरथाना निवासी निशा यादवको गत वर्ष फागुनमा रमजेशकुमार रायसँग विवाह भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board