मुस्ताङको कागबेनी र खिङगामा टेलिकमको फोरजी सेवा

बागलुङ । पछिल्लो समय हिमाल पारीको जिल्ला मुस्ताङ सञ्चार क्षेत्रमा सुगम बन्दै गइरहेको छ । नेपाल टेलिकमले जिल्लाका अधिकांश भू–भागमा मोबाइल सेवा पुर्‍याएसँगै जिल्लाले सञ्चारको क्षेत्रमा फड्को मार्न सफल भएको हो ।

टेलिकमले आफ्नो सेवालाई त्यहाँ तीव्र रुपमा विस्तार गरिरहेको जनाएको छ । पर्यटकीय तथा धार्मिक हिसाबले महत्वपूर्ण गन्तव्यको रुपमा परिचित कागबेनीदेखि मुक्तिनाथ मन्दिरसम्मको सडकलाई मध्यनजर गर्दै आफनो सेवा विस्तार गरेको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ खिङगामा २५ मिटर स्थायी संरचनासहितको टावर निर्माण गरेर एकैसाथ टेलिकमले टुजी र चौथो पुस्ताको फोरजी मोबाइल सेवा शुभारम्भ गरेको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ इन्जिनियर केशव शर्माले जानकारी दिए ।

मोबाइल सेवा सञ्चालनमा आएपछि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको वडा नम्बर १ को खिङगा गाउँ, झारकोट, पुथाक, झोङका झन्डै २ सय घरधुरीसँगै धार्मिक तथा पर्यटकीय गन्तव्य कागबेनीदेखि मुक्तिनाथ मन्दिरसम्मको सडकमा यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई नमस्ते मोबाइलमा भ्वाइस र डाटा चलाउन सहज भएको प्रमुख शर्माले बताए ।

“पहिले त्यस क्षेत्रमा टावर नहुँदा हामीलाई सञ्चारका लागि निकै समस्या भएको थियो अहिले टावर सञ्चालनमा आएपछि मोबाइलमा कुराकानी गर्न र इन्टरनेट चलाउन निकै सहज भएको छ,” वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले भने । उनले सडकदेखि टावर निर्माण स्थलसम्म उपकरण ढुवानीका लागि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आवश्यक सहयोग गरेको समेत बताए ।

मोबाइल सेवा नहुँदा गाउँपालिकाको वडा नम्बर १ का ४ वटा गाउँका बासिन्दा र यहाँ आउने पर्यटकलाई समस्या हुने गरेको वडा नम्बर १ का वडा अध्यक्ष प्रमेश गुरुङले बताए । खिङगामा टेलिकमले सोलार सेटमार्फत् टावर सञ्चालन गरेको छ ।

यसभन्दा अघि टुजी र थ्रिजी सेवा मात्र रहेको कागबेनीको टावरमा पनि टेलिकमले फोरजी सेवा थप गरेको छ । फोरजी सेवा सुचारु भएपछि त्यस क्षेत्रमा मोबाइल डाटामार्फत् इन्टरनेट चलाउन र भिओ एलटीमार्फत् एचडी कल गर्न सुविधा थप भएको छ ।

त्यस्तै, टेलिकमले घरपझोङ गाउँपालिकास्थित जोमसोम रिसोर्टमा रहेको टावरमा फोरजी सेवा थप गरेको छ । फोरजी सेवा सञ्चालन भएसँगै रिसोर्ट आसपासमा रहेका बस्तीहरु स्याङ र ठिनीका झन्डै २ सय घरधुरी मोबाइल सेवाबाट लाभान्वित भएका छन् ।

यता म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ छोटेपा क्षेत्रमा पनि टेलिकमले थ्रिजी सेवा सञ्चालन गरेको जनाएको छ । ५ महिना पहिले टुजी सेवा मात्र उपलब्ध गराएको टेलिकमले त्यहाँ निर्माणाधिन निलगिरी हाइड्रो पावरलाई लक्षित गरी इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यले थ्रिजी सेवा सञ्चालन गरिएको नेपाल टेलिकम म्याग्दीले जानकारी दिएको छ ।

अत्यन्तै विकट र दुर्गम भूभाग रहेको उक्त स्थानमा निर्माणाधिन निलगिरी हाइड्रो पावरमा झन्डै १ हजार २ सय मजदुरले काम गरिरहेको हाइड्रो पावरका आवसिय इन्जिनियर रत्न बमजनले जानकारी दिए । निलगिरीमा थ्रिजी सेवा सञ्चालन भएपछि त्यहाँ कार्यरत मजदुरहरुलाई मोबाइल डाटामार्फत् इन्टरनेट चलाउन थप सहज भएको नेपाल टेलिकमले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board