काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले फोहर केही दिनमा उठाइसकिने बताएका छन् ।
सडकमा अहिले भइरहेको सम्पूर्ण अवरोधहरु हटेको र बिहीबार मात्रै २८४ गाडी फोहोर बन्चरेडाँडा पुगेको मेयर साहले जानकारी दिए । साहले आफूहरूसँग सीमित मात्रामा फोहोर बोक्ने ट्रकहरु रहेकाले समस्या रहेको बताएका छन् ।
“यही अवस्था कायम रहिरहेमा केही दिनमा नै सबै फोहोर उठिसक्ने छ । हामीसँग सीमित मात्रामा फोहोर बोक्ने ट्रकहरु रहेका छन् । टिपर, ट्रक जस्ता ठुला मेसिनरीका व्यवसायीहरुको सहयोगले मात्रै छोटो समयमा धेरैभन्दा धेरै फोहोर उठाउन सकिन्छ,” साहले भनेका छन् ।
फोहर उठाउन महानगरले यातायात व्यवसायीसँग सहयोग लिएको थियो ।
महानगरको आग्रह स्वीकारेर फोहोर ढुवानी गर्न सहयोग गर्नु हुने समानान्तर (निःशुल्क ३० वटा), नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ (इन्धन महानगरले भर्ने गरी १८ वटा), नेपाल टिपर तथा ट्रक व्यवसायी समिति, गाडी चालक, सहयोगी लगायतलाई उनले धन्यवाद दिएका छन् ।
महानगरलाई थप टिपर तथा ट्रक उपलब्ध गराउन चाहने व्यक्ति वा संस्थालाई सम्पर्क गर्न साहले आह्वान गरेका छन् ।
COMMENTS