प्रचण्डको प्रस्ताव : २१ सदस्यीय पदाधिकारी, महासचिवमा शर्मा र पुनको विकल्प खोजिँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको शुक्रबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको संख्या प्रस्ताव गरेका छन् ।

अध्यक्ष प्रचण्डले पार्टीमा २१ सदस्यीय पदाधिकारी रहने प्रस्ताव गरेको एक स्थायी समिति सदस्यले बताए ।

पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र १ मात्रै उपाध्यक्ष हुनेछन् भने महासचिव एक जना, उपमहासचिव ७ जना प्रस्ताव गरिएको छ । त्यस्तै, ९ सचिव र एक कोषाध्यक्ष प्रस्ताव गरिएको ती स्थायी समिति सदस्यको भनाइ छ ।

वरिष्ठ उपाध्यक्षमा नाराणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा यसअघि नै घोषित भइसकेका छन् । महासचिवमा भने घम्साघम्सी नै छ । विशेष गरेर वर्षमान पुन र जनार्दन शर्माबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

प्रचण्ड भने यी दुवैलाई महासचिव नबनाई यिनीहरुभन्दा वरिष्ठ नेतालाई महासचिव बनाएर अघि बढ्ने योजनामा पुगेका छन् ।

शर्मा र पुनभन्दा सिनियर नेताहरु देव गुरुङ वा हरिबोल गजुरेलमध्येमा एकजनालाई महासचिव बनाएर अघि बढ्ने तयारीमा प्रचण्ड रहेको स्रोतको भनाइ छ ।

शुक्रबार बसेको बैठकमा नेता शर्माले आफूलाई महासचिव बनाउनै पर्ने भन्दै भनाइ राखेको बैठकमा सहभागी एक नेताले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board