मुगुमा एक किलो नुन ७५ रुपैयाँ !

  • खड्क सुनार

मुगु । जिल्लाको उत्तरी व्यापारी नाका नाक्चेलाग्ना ह्याजीमार तीन वर्षदेखि सुनसान बनेको छ । हरेक वर्ष साउन १५ देखि अन्तिम साउनसम्म १५ दिनका लागि खुल्ने उक्त व्यापारी नाका कोरोना महामारीका कारण यो वर्ष पनि नखुल्दा स्थानीय कार्मारोङ बासी निराश बनेका हुन् ।

१५ दिनका लागि अस्थायी रूपमा खोल्ने व्यापारी केन्द्रबाट यस पालिकाका स्थानीय वर्ष भरिको लागि खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामान किनमेल गर्न त्यस क्षेत्र पुग्ने गर्थे ।

कोरोना महामारीका कारण तीन वर्ष यता उक्त व्यापारी नाका ठप्प हुँदा स्थानीय कर्मचारी, व्यापारी र सर्वसाधरण मारमा परेका मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए ।

सुर्खेत नेपालगन्जदेखि सामान किनेर ढुवानी गर्दा वस्तुको मूल्यभन्दा ढुवानीको मूल्य चार पाँच गुणा बढी पर्ने गरेको उनको भनाइ छ । उक्त नाका अस्थायी व्यापारी नाका नखोल्दा स्थानीय महँगो पैसामा खाद्यान्न किनेर दैनिक जोहा गर्न बाध्य भएको उनले बताए ।

तीन वर्षदेखि उत्तरी व्यापारी नाका बन्द हुँदा खाद्य बस्तु, लत्ताकपडालगायत दैनिक उपभोग्य वस्तुको जोहो गर्न कठिनाइ भएको मुगुम कार्मारोङ गाउँपालिका–२ की फुटी लामाले बताइन् । यो वर्ष पनि भदौ पहिलो साता बित्न लाग्दा पनि नाका खुल्ने नखुल्ने कुनै निश्चित नभएको उनको भनाइ छ ।

तिब्बती ब्यापारी नाकाबाट खाद्यान्न लगायतको उपभोग्य वस्तु ल्याएर हामी बाच्ने गरेको डोल्फु गाउँका ग्याल्जन लामाले बताए । नाका नखुले आफूहरूलाई परिवार पाल्न मुस्किल हुने उनले बताए ।

साउन १५ देखि मसान्त सम्म खोलिने नेपाल र तिब्बतको सिमाना ह्याजीमारामा तिब्बती व्यापारीले अस्थायी हाट बजार सञ्चालन गर्ने र उक्त हाट बजारमा मुगम कार्मारोङ गाउँपालिकाका मुगु, चितै, डोल्फु, ताखा, खारी, किम्री, रिउस, पुअ, मह मांग्रीलगायत १७ वटा बस्तीबाट स्थानीय व्यापारी, सर्वसाधारण खाद्य बस्तु, नुन, तेल लत्ताकपडा किन्न उक्त नाकातिर ओइरो लाग्ने गर्थे ।

तिब्बतबाट सामान ल्याउन कसैले घोडा खच्चर, चौरी झोबा गधालगायत माल वस्तु लिएर सामान ढुवानी गरेर ल्याउने गरेको किम्रीगाउँका जिक्टोल लामा बताउँछन् ।

उत्तरी व्यापारी नाका बन्द हुँदा हामीमा गरिबी समेत बढेको उनको भनाइ छ । खेत गरामा अन्नबाली समेत उत्पादन हुन छोडेको र उत्तरी व्यापारी नाका पनि तिन वर्ष यता बन्द हुँदा जीवनयापन गर्न कठिनाइ भएको उनी बताउँछन् ।

२५ केजी चामलको मुगु सदरमुकाम गमगढीमा १८ सय देखि दुई हजार दुई सय सम्म पर्छ । भने मुगम कार्मारोङका विभिन्न गाउँ बस्तीसम्म पुग्दा ६ हजार सम्म पर्ने गरेको स्थानीयको भनाइछ । एक केजी नुनको सदरमुकाममा ९ रुपैयाँ पर्छ भने कार्माङमा ७५ रुपैयाँसम्म पर्ने गरेको छ ।

सामान किनेको मुल्य भन्दा ढुवानी महँगो पर्ने भएकाले स्थानीय मर्कामा परेका छन् । सुर्खेत नेपालगन्जमा एक हजार दुई सयदेखि एक हजार ८ सय सम्म पर्ने चामल मुगु सदरमुकाम पुगाउन प्रति केजी १२ रुपैयाँ ढुवानी पर्ने गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • news@nepalpage.com

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board